समाचार

एमाले विरोधबीच विनियोजन विधेयक बहुमतले स्वीकृत, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधबीच बजेट स्वीकृत भएको छ ।

एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको हो ।

मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए ।

सभामुखले दिएको समयमा नेपाल मजदुर किसान पार्टीका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे ।

विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।

सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।