स्वास्थ्य

नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ ।

संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ ।

कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका समेत यस भाइरससँग मिल्दोजुल्दो लक्षणका कारण मानिसहरु बाहिरिएका छैनन् ।

सोहीकारण सोमबार साँझसम्म नेपाल कोरोनामुक्त मुलुक नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो।

तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म ४ सय ७८ को परीक्षण भएको छ । उनीहरु सबैमा कोरोना भाइरस नेभेटिभ देखिएको हो ।

अहिले काठमाडौंलगायत विभिन्‍न अस्पतालबाट ६ जना शंकास्पद बिरामीको ल्याब परीक्षणका लागि नमुना ल्याइएको छ। उनीहरुको रिपोर्ट आउन बाँकि रहेको छ ।

यस रोगले संसारभर ६ हजार ६८ जनाले ज्यान गुमाइसकेका छन् । चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमणको आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हङकङ पठाइएको थियो ।

त्यसको १० दिनपछि उनमा संक्रमण देखिएको पुष्टि भएको थियो । त्यसयता नेपालमा कुनै पनि मानिसमा कोरोना देखिएको छैन । पछिल्ला दिनमा भने सरकारले विदेशी नागरिकलाई नेपाल प्रवेशमा समेत कडाई गरिसकेको छ ।

सोमबार सरकारले सचेतना अपनाउन नागरिकसँग भने आह्वान गरेको छ । संक्रमण भित्रिहालेमा त्यसको रोकथाम गर्न सरकार तयार रहेको भन्दै मन्त्रालयले तर सचेत रहन भने आह्वान गरिएको छ ।