विश्व

इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

EPA\BBC

काठमाडौं । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले सिरियाको राजधानी दमास्कसस्थित आफ्नो कूटनीतिक नियोगको परिसरमा गरिएको हमलाको बदलामा इरानले इजरेलमा आक्रमण गर्न सक्ने भन्दै आफ्ना सुरक्षा बललाई ‘उच्च सतर्कता’ अवस्थामा राखिएको जनाएका छन्। इरानले पनि उसले सेनालाई ‘उच्च सतर्क’ अवस्थामा राखेको विवरणहरू आइरहेका छन्। गत सोमवार दमास्कसमा गरिएको आक्रमणमा रिभोल्युसनरी गार्ड्सका कमान्डरहरू मारिएका थिए र तेहरानले त्यसमा इजरेलको हात रहेको आरोप लगाइरहेको छ। इजरेली सेनाले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

वाशिङ्टनमा इरानले मध्यपूर्वमा अवस्थित अमेरिकी सेना रहेका आधार शिविरहरू तथा नियोगहरूसमेत आक्रमण गर्न सक्ने आशङ्काहरू व्यक्त भइरहेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका खबरहरूमा इजरेलमाथि आरोप लगाइएको दमास्कस हमलाको जवाफमा इरानले कुनै प्रकारको सैन्य कारबाहीको तयारी गरिरहेको जनाइएको छ।

यद्यपि रमजानको अन्तिम शुक्रवार प्यालेस्टाइनको समर्थनमा मनाइने दिवस कुड्स डे कुनै पनि घटना बिना नै बितेको छ। तर पनि इरान वा यसको कुनै क्षेत्रीय साझेदारले उक्त महत्त्वपूर्ण दिनलाई आफ्ना कमान्डरहरूको ज्यान गएको हमलाको बदला लिनका लागि प्रयोग गर्न सक्ने कतिपयले ठानेका थिए।

त्यस्तो नभए पनि अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणहरूले आक्रमण निकट भविष्यमै हुने आकलन गरिरहेका छन्। अमेरिकी अधिकारीहरूले एउटा बिफ्रिङ दिएका छन् जसमा उनीहरूले इरानले ड्रोन र क्रुज क्षेप्यास्त्र प्रयोग गरी हमला गर्ने योजना बनाइरहेको उल्लेख गरेका छन्। तर हमलाको समय र निसानाबारे कुनै जानकारी दिइएको छैन।

एउटा अलग्गै अमेरिकी विवरणमा दुई जना इरानी अधिकारीहरूलाई उद्धृत गर्दै तेहरानले आफ्नो सैन्य बललाई उच्च सतर्कतामा राखेको जनाइएको छ।
त्यसले हालै जगेडामा राखिएका सैनिकहरूलाई बोलाउने र लडाइमा खटिने सैनिकहरूको बिदा रद्द गर्ने इजरेली कदमको साङ्केतिक अर्थलाई प्रस्ट पार्छ।
कुद्स दिवसका दिन दिएको सन्देशमा इरानसँग निकट सम्बन्ध रहेको शक्तिशाली क्षेत्रीय शक्ति हेजबुल्लाहका नेता हसन नसराल्लाहले दमास्कस आक्रमण जारी द्वन्द्वको निर्णायक मोड रहेको बताएका थिए।

आउँदो हप्ता आक्रमण हुन सक्ने विवरण अमेरिकी सञ्चारमाध्यम सीएनएनले प्रकाशित गरेको छ। रोएटर्सका अनुसार एक जना अमेरिकी अधिकारीले त्यसलाई पुष्टि गर्दै भनेका छन्, “हामीले उच्चस्तरको निगरानी गरिरहेका छौँ।” इजरेलले आफ्नो देशका विभिन्न भागमा जीपीएस नचल्ने बनाएका विवरण आएका छन् । इजरेली युद्ध विमानहरूमाथि दमास्कसस्थित इरानी राजदूतावासमा बम खसालेको आरोप लागेको छ।

सो आक्रमणमा एक जना इरानी सैन्य कमान्डर मारिएका थिए भने ७ जना इरानी सैन्य सल्लाहकारहरू मारिएको इरानको रिभोल्युशनरी गार्डस्‌ले जनाएको थियो। मारिनेमा विदेशी गुप्तचर समेत हेर्ने विशेष अर्ध सैनिक बल कुड्स फोर्सका एक जना वरिष्ठ कमान्डर मोहम्मद रेजा जाहेदी पनि रहेको विवरण आएका छन्। इरानले ‘निर्णायक प्रतिक्रिया जनाउने’ अधिकार आफूमा रहेको बताएको छ। उक्त घटनापछि इरानबाट हुन सक्ने जोखिमबारे अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग छलफल गरेका छन्। बाइडन प्रशासनका एक जना वरिष्ठ अधिकारीले अमेरिकाले इरानबाट हुन सक्ने जोखिममा इजरेललाई पूर्ण समर्थन गर्ने बताएका छन्।
बीबीसी