समाचार

रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट १० वर्षपछि परिवर्तन गरिएको छ । सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण रुट बनाइरहेका ‘आइसफल डाक्टर’ हरू बुधबार ‘क्याम्प वान’ नजिकै नयाँ रुटबाट बाटो बनाउँदै ‘क्याम्प टु’ सम्म उक्लिन सफल भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार ‘ल्हो ला पिक’ नजिकैबाट साविकभन्दा अलग रुट खोली आइसफल डाक्टरहरू क्याम्प वानबाट माथि उक्लिन सफल भएका हुन् ।

२०१४ भन्दा अगाडि प्रयोग भएको बाटो नजिकैबाट नयाँ रुट खोलिएको हो । विगत वर्षहरूमा प्रयोग भएको रुटमा हिउँ अस्थिर भएको र पटक–पटक रुट खोल्ने प्रयास असफल भएपछि आइसफल डाक्टरहरूले नयाँ रुट खोलेर अगाडि बढ्न सफल भएको उनले जानकारी दिए । यहाँ बाटो बनाउन खटिएको विशेषज्ञ टोलीले कम्तीमा १५ दिनसम्म हिउँको अवस्थिति अवलोकन गरी जोखिम विश्लेषण गरेका थिए । हिँउ बढी नै चलायमान भइरहेपछि नयाँ रुट खोलेर अगाडि बढेको उनले बताए ।

अबको एक सातामै बाटो बनाउने टोली सगरमाथा चुचुरो पुग्ने अपेक्षा गरिएको विभागले जनाएको छ । सगरमाथामा सगरमाथा प्रदूषण नियन्त्रण समितिले रुट बनाउने काम गर्दै आएको छ । सगरमाथाको ५ हजार ३ सय ८० मिटरमा आधार शिविर रहेको छ । पहिलो शिविर ६ हजार ६५ मिटरमा छ । दोस्रो, तेस्रो र चौथो शिविरपछि चुचुरो पुग्ने गरी रुट बनाइन्छ । यसपालि बाटो बनाउने काममा आठजना विज्ञ आरोही खटिएका छन् ।