स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३३ लाख पार भएको छ ।

ज्यान गुमाउनेको संख्या भने २ लाख ३४ हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्मको तथ्या‌ंकअनुसार विश्वभर २ लाख ३३ हजार ९ सय ६६ जनाले यस भाइरसका कारण ज्यान गुमाउनु परेको छ ।

३३ लाख ५ हजार मानिसमा संक्रमण पुष्टी भएको छ । १० लाख ३९ हजार संक्रमित भने कोरोनालाई जित्दै घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर ५ हजार ८ सय मानिसको ज्यान गएको छ । यसअवधिमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ संक्रमित थपिए ।

अमेरिकामा कोरोना कारण २४ घण्टा भित्र २ हजार २ सय १ जनाले ज्यान गुमाए । यस दिन ३० हजार ८ सय २५ जना नयाँ संक्रमित थपिएका छ् ।

अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार पुगेको छ ।

स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए । २ सय ६८ जनाको मृत्यु भएको छ । यस मुलुकमा मृत्यु हुने मानिसको संख्या भने उल्लेख्य घटेको छ ।

स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन्।

इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएका छन् । २ सय ८५ जनाको मृत्यु भएको छ। इटलाीमा २७ हजार २ सय ६७ को मृत्यु भइसकेको छ ।

बेलायतमा ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यस दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाए ।

फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिए । २ सय ८९ जनाको मृत्यु भएको छ । नेपालमा कुल ५७ जनामा संक्रमण देखिएको छ । पछिल्लो ३ दिनयता नेपालमा नयाँ संक्रमण देखिएको छैन । १६ जना घर फर्किसकेका छन् ।