विश्व

तीन हप्तापछि देखिए उत्तर कोरियाका राष्ट्र प्रमुख उन

न्युयोर्क

बिगत ३ हप्तादेखि बेपत्ता भएका उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोन उन  सार्वजनिक रुपमा देखिएका छन् । २० दिन पछि उन एक फर्टिलाईजर कम्पनीको शुभारम्भ कार्यक्रममा रिबन काट्दै गरेको देखिएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले शनिबार जनाएको छ । किम शुक्रबार अकस्मात कार्यक्रममा देखिए पछि सहभागिहरुको भिडले “हुर्रे…” भनेर चिच्याएको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । यद्यपी रिबन काट्दै गरेको उनको तस्बिर भने सार्वजनिक हुन नै बाँकी छ । उनले कार्यक्रममा फर्टिलाईजर कम्पनीको उत्पादनले आफू सन्तुष्ट भएको बिचार समेत ब्यक्त गरेका थिए ।  

उन गत अप्रिल ११ तारिखमा आयोजित वर्कर्स पार्टी पोलिट ब्युरो मिटिङ र अर्को दिन फाईटर जेट निरिक्षणका क्रममा अन्तिम पटक देखिएका थिए । अप्रिल १५ मा पर्ने उत्तर कोरियाका संस्थापक किम सुङ्को जन्मदिवसमा पनि नदेखिए पछि उनको मृत्‍यु  भएको हल्लाहरु संचार माध्यममा फैलिएको थियो ।