विश्व

भेनेजुएलामा कारागार भित्र दंगा, कम्तिमा ४० को ज्यान गयो

काठमाडौं । अमेरिकी मुलुक भेनेजुएलामा कारागार भित्र भड्किएको हिंसामा कम्तिमा ४० जनाको ज्यान गएको छ । यसरी मारिने सबै जना कैदी हुन् ।

संचारमाध्यमहरुक अनुसार पश्चिमी नगर गुआनारे नजिकै लोस लानोसस्थित कारागारमा कैदीबीच खाना र पानीको अभावका विषयमा हिंसा भएको बताइएको छ ।

कारागारमा यी वस्तुको अभाव भएको भन्दै कैदीको भिड आक्रोसित बनेको थियो । कैदीहरूले जेल तोड्ने प्रयास गरेको भन्ने जेलका अधिकारीले जनाएका छन् । घटनामा गभर्नरसहित जेलका कर्मचारी समेत घाइते भएको बताइएको छ ।

भेनेजुएलाका एक मन्त्री इरिस भारेले जेलमा घटना भएको पुष्टी गरेका छन् ।

भेनेजुएलाका अधिकांश जेलमा धेरै कैदी रहेको र ती कारागार फोहोर रहेको बताइएको छ ।

त्यसमाथि कोरोना भाइरसको सन्त्रासका बीचमा कैदिहरु आंतकित बनेका छन् ।

कोरोना भाइरस सर्ने डरले अहिले कैदीहरूलाई आफन्तहरुले ल्याउने खाना लिन निषेध गरिएको छ । यहाँ धेरैजसो कैदीको खाना प्रशासनले नभई आफन्तले ल्याउने गरेका थिए ।

एजेन्सी