फिचर

५० दिनपछि खुल्ने भयो शेयर कारोबार

काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएसँगै शेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ३० वैशाख (मंगलबार) बाट शेयर बजार सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो ।

यससँगै ५० औं दिनपछि शेयर बजार पुनः सूचारु हुने भएको हो । ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि शेयर बजार समेत ठप्प भएको थियो ।

बोर्डमा शुक्रबार सरोकारवालाको छलफल भएको थियो । छलफलले पहिलो चरणमा शेयर बजार कारोवार दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाउने निर्णय भएको हो ।

बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था मिलाइने भएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने समेत निर्णय गरिएको छ ।

आगामी साउनदेखि भने पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गर्ने तयारी समेत भएको छ ।

अब नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द हुने गरी सर्किट ब्रेक लाग्नेछ । यो भने बजारमा हुन सक्ने अधिक चलखेल रोक्न ल्याइएको हो ।