समाचार

कोरोना कहालीले सम्झायो १०० बर्ष अघिको स्पेनिश फ्लू, डेढ बर्षमा ५ करोडको गएको थियो ज्यान

प्रभात भट्टराई/अमेरिका

संसार पहिलो विश्वयुद्धको कहालीबाट बाहिर निस्किने तरखर मात्र गर्दै थियो, सबैलाई एक अदृश्य शत्रुले घेर्यो । चार बर्ष चलेको विश्वयुद्धभन्दा डेढ बर्षसम्म फैलिएको उक्त महामारीमा करोड बढिले ज्यान गुमाए । सन् १९१८ मा सुरु भएको स्पेनिस फ्लू  (इन्फ्लुएन्जा) पेन्डामिक यति कहालीलाग्दो सरुवा रोग भइ दियो कि पाँच करोड हाराहारीले यसको संक्रमणबाट ज्यान गुमाए । जबकी पहिलो विश्वयुद्धमा मारिनेको संख्या संसारभर चार करोड हाराहारी मात्र थियो ।

एचवानएनवान भाइरसको कारण फैलिएको स्पेनिश फ्लू महामारी कोभिड १९  (कोरोना भाइरस)को प्रकोपसँगै एक पटक फेरि जनस्वास्थ्य विज्ञ र जानकारहरुको मानसपटलमा बल्झिएको छ । सन् १९१८ को वसन्तमा पहिलो पटक अमेरिकी सैन्य अधिकारको शरिरमा देखिएको स्पेनिश फ्लुको प्रसार यसरी भयो कि विश्वभरका ५० करोड व्यक्ति यो रोकको संक्रमणमा परे । त्यसबेलाको विश्व जनसंख्याको यो एक तिहाई हिस्सा थियो । संक्रमितमध्ये १० प्रतिशतले ज्यान गुमाएका थिए । अमेरिकामा यो भाइरसका कारण छ लाख ७५ हजारको ज्यान गयो । युरोपका १४ देशमा मात्र २३ लाख बढिको मृत्यु भएको थियो ।

पहिलो पटक अमेरिकी सैनिकमा देखिएको भएपनि यो भाइरस कहाँबाट सुरु भयो भन्ने यकिन अहिलेसम्म हुन सकेको छैन । संक्रमणबाट ज्यान गुमाउनेमा अधिकांश पाँच बर्ष मुनिका, २० देखि ४० बर्षका र ६५ बर्ष माथिका थिए । २० देखि ४० बर्ष उमेर समुहका स्वस्थ व्यक्तिहरुको उच्च मृत्युदर भने संक्रमणको सबैभन्दा अनौठो विशेषताको रुपमा रहेको थियो । संक्रमणका लागि कुनै भ्याक्सिन पत्ता लागेको थिएन भने एन्टी बायोटिक औषधी पनि उपलब्ध थिएन । आइसोलेसन, क्वारेन्टाइन, स्वस्थवर्धक खाना, सेनिटाइजर  प्रयोग जस्ता रोकथामका गैर चिकित्सकीय उपाय पनि सिमित थिए ।

सन् १९१७ को अप्रिलमा अमेरिकी पौने चार लाख सैनिक सहित पहिलो विश्वयुद्धमा होमियो । १९१८ को मार्चमा ‘फ्लू’ संक्रमणसँगो मिल्दोजुल्दो विशेषताको रोग अमेरिकी आर्मीहरुमा देखिन थाल्यो । कान्सास स्थित क्याम्प फनस्टोनमा सातामै १०० सैनिक जवान घाइते भए ।  छ महिना भित्र उक्त संक्रमण अमेरिका सहित युरो र एसियाका बिभिन्न देशमा देखिन थाल्यो ।

सन् १९१८ को अक्टुबरमा मात्र एक लाख ९५ हजार अमेरिकीले भाइरस संक्रमणबाट ज्यान गुमाए । त्यसपछि अमेरिकामा व्यवसायीक नर्सहरुको अत्यधिक खाँचो हुन पुग्यो । ठूलो संख्यामा नर्सहरु युद्ध मैदानमा घाइते सैनिकको उपचारमा खटिएका कारण नियमित अस्पतालमा उनीहरुको अभाव भएको थियो । अत्यधिक अभाव पछि नर्सलाई सहायता गर्न तयार हुनेले साताको १५ देखि २५ डलरसम्म कमाइ हुने विज्ञापन अस्पतालहरुले गरेका थिए । पेन्डामिकबाट अत्यधिक प्रभावित फिलाडेल्फियामा शबदाहगृहको पालो पर्खाइमा ५०० बढि लास पुगि सकेका थिए । कैयन् शब साताभन्दा बढि समय लाइनमा थिए । क्लोड स्टोरेजहरुलाई अल्पकालका लागि शबगृहमा रुपान्तरण गरिएको थियो भने एक उत्पादकले २०० सय  ‘प्याकिङ क्रेट’ कफीन बनाउन अनुदान दिएका थिए । सिकागो लगायत कैयन् शहरले मुभि थिएटर,  रात्रीकालिन स्कुलहरु बन्द गरेर सर्वसाधारणलाई भिडभाड नगर्न अनुरोध गरेका थिए । सान फ्रान्सिस्को स्थित बोर्ड अफ हेल्थले सार्वजनिक सेवामा रहेका सबैलाई मास्क लगाउन अनिवार्य गरेको थियो भने आम नागरिकलाई पनि मास्क लगाउन अनुरोध गरेको थियो ।

सेप्टेम्बर २०१८ मा बोस्टन स्थित अमेरिकी सेनाको तालिम केन्द्र क्याम्प डेभेन्समा दोस्रो चरणको संक्रमण फैलियो । त्यही चरणको संक्रमण अमेरिकाका लागि सर्वाधिक घातक बन्यो । सबैभन्दा धेरैको जीवन यही चरणमा गयो । न्यूयोर्क सिटी स्थित बोर्ड अफ हेल्थले संक्रमणलाई महामारीको संज्ञा दिँदै रोगीहरुलाई घरमै आइसोलेसनमा बस्न अनुरोध गर्यो । सेप्टेम्बर अन्त्यसम्ममा क्याम्प डेभेन्समा मात्र १४ हजार संक्रमित पुगि सकेका थिए भने ७५७ ले ज्यान गुमाएका थिए ।

नोभेम्बर १९१८ मा विश्वयुद्ध अन्त्यको घोषणा भएसँगै सैनिकहरुले युद्धस्थलबाट स्वतन्त्रता पाए । युटाह स्थित साल्ट लेक सिटीका अधिकारीले दुई हजार घरका अगाडि र पछाडि ढोकामा क्वारेन्टाइन संकेत राखेर फ्लु संक्रमितलाई बसोबासको व्यवस्था मिलाएका थिए । त्यसरी क्वारेन्टाइनमा घरमा बस्नेमा धेरै युद्धबाट फर्किएका सैनिकहरु नै थिए ।

जनवरी १९१९ मा तेस्रो चरणको संक्रमण फैलियो । यो प्रसार त्यस बर्षको ‘समर’सम्म चलेको थियो । जनवरीको पहिलो पाँच दिनमा सान फ्रान्सिस्कोमा १८ सय संक्रमित फेला परि सकेका थिए भने १०१ ले ज्यान गुमाएका थिए । सान एन्टोनियोका सर्वसाधारणले धेरै नयाँ केशको रिपोर्टिङ नभएको गुनासो गरेका थिए भने न्यूयोर्कमा पनि केही दिन भित्रै ७०० संक्रमित र ६७ ले ज्यान गुमाएका थिए । अन्तत: त्यही समरबाट यो संक्रमण अन्त्य भयो ।

सन् १९१९ को अप्रिलमा विश्वभरका नेता पहिलो विश्वयुद्ध अन्त्य र शान्ति सम्झौताको घोषणा गर्न फ्रान्सको पेरिस स्थित भर्सेल्स दरवारमा भेला भएका थिए । त्यहाँ अमेरिकी राष्ट्रपति उड्रो विल्सन बेहोस भए । केही इतिहासकारहरुले उनी भाइरस संक्रमणका कारण कमजोर बनि सकेको हुँदा बेहोस भएको उल्लेख गरेका छन् । तर , अमेरिकी राष्ट्रपतिलाई यो भाइरस लागे नलागेको भने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

अहिले विश्व स्पेनिश फ्लू जस्तै कोभिड १९ संक्रमणसँग जुधि रहेको छ । त्यसबेला जस्तै अहिलेसम्म यसको पनि औषधि पत्ता लागेको छैन । विश्वभरमा ४१ लाख बढि संक्रमित भइ सकेका छन् भने झन्डै तीन लाखको ज्यान गइ सकेको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको यो संक्रमण अहिले विश्वका प्रायः सबै मुलुकमा पुगि सकेको छ । संक्रमणबाट अमेरिकामा सबैभन्दा धेरै ७९ हजारले ज्यान गुमाएका छन् भने १३ लाख बढिलाई यो रोगले च्यापि सकेको छ । शुक्रबार मात्र ह्वाइट हाउसमा कार्यरत तीन कर्मचारीलाई यो संक्रमण लागेको पुष्टि भएको छ । औषधि पत्ता नलागे पनि स्वास्थ्य क्षेत्रमा भएको नयाँ अनुसन्धान र सूचना प्रविधीको विकासका कारण स्नेनिश फ्लुको तुलनामा कोभिड १९ को तीब्र प्रसार रोक्न सरकार र जनस्वास्थ्य अधिकारीहरु सफल भइरहेका छन् । तर, त्यसबापत विश्वले ठूलो आर्थिक मूल्य चुकाउनु परेको छ ।

स्पेनिश फ्लू संक्रमण पछि तीन दिन भित्र लक्षण देखिन्थ्यो भने कोभिड १९ लाई पाँच देखि छ दिन लाग्छ । यसरी कोभिड संक्रमितले बिना लक्षण अरुलाई रोग सार्ने संभावना बढि रहेको छ ।

 

एजेन्सीको सहयोगमा

तस्वीर: एजेन्सी