समाचार

१२०० डलरको राहत चेक पछि डेमोक्रेटिक सिनेटरहरुको प्रस्ताव- 'प्रत्येक अमेरिकीलाई मासिक २००० दिउँ'

न्यूयोर्क

कोरोना कहरका कारण करोडौँ अमेरिकीले रोजगारी गुमाएपछि तीन डेमोक्रेटिक सिनेटरले आकर्षक राहत प्याकेज प्रस्ताव गरेका छन् । क्यालिफोर्निया सिनेटर कमला ह्यारिस, भर्माउन्ट सिनेटर बर्नी स्यान्डर्स र मासाचुसेट्स सिनेटर एड मर्केले प्रत्येक अमेरिकी करदातालाई अवस्था सामान्य नहुन्जेल मासिक दुई हजार डलरको चेक पठाउन प्रस्ताव गरेका हुन् ।

यस अघि डेमोक्रेटिक सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभहरुकै जोडबलमा प्रत्येक अमेरिकी करदातालाई १२ सय डलरको चेक पठाइएको थियो । ‘मन्थ्ली इकोनोमिक क्राइसिस सपोर्ट एक्ट’ प्रस्तुत गर्दै उनीहरुले उक्त प्रस्ताव अघि सारेका हुन् । बर्षको एक लाख २० हजार डलरभन्दा कम आय भएका अमेरिकीलाई उक्त रकम पठाउन प्रस्ताव गरिएको छ । साथै तीन जनासम्म प्रत्येक बालबालीकालाई पनि दुई हजार डलरका दरले उपलब्ध गराउने व्यवस्था प्रस्तावित ऐनमा राखिएको छ । यो अवस्थामा तीन सन्तान हुने परिवारले मासिक १० हजार डलर पाउनेछन् ।

यो संक्रमण र आर्थिक चोटबाट नागरिकलाई मुक्ति दिन सबैभन्दा सहज उपाय यही भएको कारण नगद राहतको प्रस्ताव अघि सारिएको सिनेटर मर्केको भनाइ छ । ‘प्रत्येक कामकाजी परिवारका सदस्यलाई मासिक दुई हजार डलरको आम्दानी निश्चित गर्नु संसदको दायीत्व हो’ सिनेटर स्यान्डर्सले भनेका छन् । सिनेटरहरुको प्रस्ताव हुवहु पारित भए प्रत्येक अमेरिकीले मार्च देखिकै रकम पाउनेछन् ।

यो प्रस्ताव धेरै खर्चिलो भएका कारण रिपब्लिकन सिनेटरहरुको साथ पाउने सम्भावना न्यून छ । केही समय अघि डेमोक्रेटिक हाउस अफ रिप्रिजेन्टेटिभहरु टिम रायन र रो खन्नाले पनि यस्तै प्रस्ताव गरेका थिए ।