समाचार

भारतीय र चिनियाँ सेना बीच सिमामा झडप

भारत र चीनको सीमामा दुई देशका सेनाबीच हात हालाहाल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन ।

भारतको सीमावर्ती राज्य सिक्किमस्थित नाकुला क्षेत्रमा भएको विवादमा सात चिनियाँ र चार भारतीय सैनिक घाइते भएको एक सैन्य अधिकारीले संचार माध्यमहरुलाई बताएका छन् । घटना शनिवारको हो ।  उक्त घटना स्थानीय सैन्य कमान्डरहरूले आपसी समझदारीका आधारमा तत्कालको लागि विवाद समाधान गरेको बताइएको छ । झन्डै ३,४०० किलोमिटर लामो सीमा क्षेत्रमा दुवै देशको आ-आफ्नो दाबी छ ।

कहिलेकाहीँ त्यस्ता झडपमा सेनाहरूले एकअर्कासँग छाती जुझाउने, धकेल्ने र ढुङ्गा हानाहान गर्ने गरेका छँन् । केही वर्षअघि दोक्लम विवादले दुई देशको सम्बन्ध चिसिएपछि भारत र चीनका शिर्षस्थ नेताबीच वार्ता भएको थियो ।  

यो तनाव समुद्री सतहभन्दा ५,००० मिटरको उचाइमा अवस्थित विकट नाकुला क्षेत्रमा भएको हो।  भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । सन् २०१७ मा पनि चीनले उक्त सीमावर्ती क्षेत्रमा बाटो विस्तार गर्न सुरु गरेपछि दुई देशबीच समस्या उत्पन्न भएको थियो । बेलाबेला यस्ता किसिमका घटना भइरहने भए पनि चार दशकमा गोली प्रहार भने भएको छैन।

(समाचार बि बि सि नेपालीबाट जस्ताको त्यस्तै सभार गरिएको हो)