रोचक खवर

नेपाली कामदार फर्काउन यूएइले नेपालसँग माग्यो अनुमति

काठमाडौं । यूएइले अवैध रुपमा रहेका नेपाली कामदार फर्काउन नेपालसँग अनुमति मागेको छ ।

उक्त मुलुकमा अवैध रुपमा रहेका र अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेशमै लैजान आग्रह गरिरहेको छ ।

तर, नेपालले तत्काल अन्तराष्ट्रिय क्षेत्रबाट नागरिक लैजाने नीति नलिएका कारण यूएइ आफैले नेपालीलाई काठमाडौं ल्याइदिने प्रस्ताव गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौं ल्याउने अनुमति मागेको छ ।

सोमबार संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार दुई वटा विमान आउने जानकारीसहितको पत्र मन्त्रालयमा आएको छ ।

नेपालमा आन्तरिक तयार नभएका कारण यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था भने छैन ।

उनकाअनुसार श्रम गन्तव्य मुलुकहरुबाट तत्काल २ लाख १० हजार ८७१ जना नेपाललाई घर फर्काउनु पर्ने अवस्था छ ।

यो तथ्यांक विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलन भएको हो । यो संख्या भारतबाहेकका मुलुकको मात्र हो ।

भारतबाट मात्र करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक आएको छ ।

यसअनुसार साँच्चै संकटमा परेकालाई पहिलो चरणमा नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी समेत थालिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

भारतले मंगलबारदेखि रेल सेवा शुरु गर्दैछ । त्यसपछि नेपालको सीमा क्षेत्रमा तत्काल ठूलो संख्यामा नेपाली आइ पुग्नेछन् ।

त्यसबेला नेपाली मात्र नआएर, उनीहरुको साथमा कोरोना पनि आउने निश्चित छ । किनकी अहिलेसम्म नेपालमा समुदायमा कोरोना सरेको छैन ।

भारतबाट नेपाल आएका र भारतीय नागरिकमै बढी कोरोना देखिएको छ । यसबाहेक तेस्रो मुलुकबाट आउने नेपालीमा कोरोना देखिएको छ ।