समाचार

सीमा अतिक्रमणबारे तत्काल वार्ताको पक्षमा नेपाल, टार्न खोज्दै भारत

काठमाडौं । नेपाल र भारतबीच लिपुकेल विवाद लामोसमय देखि जारी छ ।

यसको कूटनीतिक समाधानबारे नेपाल सरकारले सिघ्र वार्ताको तयारी गरेपनि भारतले विविध बाहना बनाउँदै टार्दै आएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए ।

भारत सरकारले लिपुलेकमा नेपालको भूमि अतिक्रमण गरी सडक बनाएपछि फेरी एकपटक यो विषय टुंग्याउन भारतसँग आग्रह गरेको छ ।

साथै सडक संचालनमा नल्याउन समेत आग्रह गरिसकेको छ । तर, भारतले भने कोरोनाको सन्त्रास सकिएपछि मात्र वार्ता गर्ने भन्दै टार्न लागेको उनले जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार नेपालले भने छिटो वार्ताको पहल गरिरहेको छ ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री ज्ञवालीले नेपाल सरकारले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा बनाएको सडकबारे वार्ता गर्न धेरै पर्खिन नसक्ने स्पष्ट पारेको जानकारी दिए ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ ।

साथै, त्यसलाई यथास्थितिमा राख्न पनि नेपालले माग गरेको उनको भनाई छ ।

समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका सांसदले भने भारतसँग भर्चुअल वार्ताको तयारी गर्न सुझाव दिएका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार भोलि गरेपनि हुन्छ, फुर्सदमा गरौंला भन्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।