स्वास्थ्य

गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

सरकारले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ । डेंगु रोगको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ ।

बिरामीको संख्या निरन्तर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो समय तराईमा बढेको अत्यधिक गर्मीका कारण लामखुट्टेको आक्रमण उत्तीकै फैलिएको छ ।

लामखुट्टेकै कारण फैलने डेंगु रोगले सुनसरी र मोरङ अति प्रभावित भएको कार्यालयको भनाई छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अनुसार धरानमा ४ सय ७४ व्यक्तिमा डेंगुको संक्रमण देखिएको छ ।

दैनिक औसतः ३० डेगु संक्रमित प्रतिष्ठान आउन थालेको बताइएको छ । धरानमा सबैभन्दा बढी बिरामी देखिएका वडा नम्बर १५ र ८ लाई डेंगु संकटग्रत घोषणा गरिएको छ ।

बिरामीको संख्या बढेपछि धरान, इटहरी र विराटनगर क्षेत्रमा डेंगु परीक्षण गर्ने किटको स्थानीय अस्पतालमा अभाव रहेको छ । उता, प्रदेश नं १ सरकारले आफ्नो क्षेत्रमा डेंगु रोगको प्रकोप फैलिएपछि नियन्त्रणको प्रभावकारी पहल गर्न सरोकारवाला निकायलाई निर्देशन गरेको छ ।

अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको खर्च प्रदेश सरकारले बेहोर्ने र डेंगु नियन्त्रणका उपायमा खर्च गर्न प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।