फिचर

नेपाल र यूएइबीच श्रम समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच श्रम समझदारीमा हस्ताक्षर भएको छ स्विट्जरल्यान्डको जेनेभामा दुई मुलुकबीच समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।

स्विट्जरल्यान्डमा अहिले अन्तरराष्टिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोह चलिरहेको छ । समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट सहभागी छन् ।

सोही अवसर पारी मन्त्री विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच शुक्रबार श्रम समझदारी पत्रमा हस्ताक्षर भयो ।

वार्षिक करिब ५० हजार नेपाली रोजगारीका लागि युएई जान्छन् । वैदेशिक रोजगारीका दृष्टिकोणबाट यो देश चौथो लोकप्रिय गन्तव्य हो।

श्रम समझदारी अनुसार अब कामदारको छनौट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने गरी दुई देश सहमत भएको छ ।

रोजगारदाताको कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आए कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने भएका छन् ।

ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनु पर्ने गरी श्रम समझदारी भएको छ ।