समाचार

देशभर लागुऔषधको तीब्र कारोबार, निरिह प्रशासन

काठमाडौं । कास्की प्रहरीले पोखरा, १० शिवमार्गस्थित एक घरबाट शुक्रबार ठूलो परिमाणमा लागुऔषध (ड्रग) बरामद गर्यो ।

बुधबार पोखरामै एक जना लागु औषधि कारोबारीलाई समाउन प्रहरीले गोली नै चलाउनु परेको थियो । शुक्रबार नै प्रहरीले लागु औषधसहित नेपालगन्जबाट एक यूवकलाई पक्राउ गर्यो ।

देशको राजधानी मात्र होइन, देशभर फैलिएको लागु औषधको कारोबार र त्यसका माध्यमबाट हुने अपराधको क्रम तीब्र रुपमा बढिरहेको छ । यसले प्रहरी प्रशासनको टाउको त दुखाइरहेको छ नै उसको निरिहता समेत प्रष्ट हुन्छ ।

शुक्रबार पोखरामा प्रहरीले ड्रगको गोदामबाट डाइजापाम, फेनेरागन र नर्फिन १ हजार ४ सय ६४ थान बरामद गरेको छ ।
त्यसबाहेक फेन्सिडिलको ३ सय ३८ बोतलसहित अरु थुप्रै लागु औषध पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ। नगद १६ हजार ७ सय ७५ रुपैयाँसहित एकजना किशोर समेत पक्राउ परेको प्रहरीको भनाई छ ।

कास्की प्रहरीले ग२च २५९५ नम्बरको गाडीसहित २७वर्षे दाबानोर्फी लामालाई समेत शुक्रबारै लागुऔषधसहित पक्राउ गरेको थियो ।

उता, शुक्रबार नै नेपालगन्ज नाकाबाट लागुऔषध ब्राउन सुगर मलद्वारमा लुकाएर ल्याउँदै गर्दा एक युवा पक्राउ परेका छन् ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–२ का २६ वर्षीय स्वरुप खत्री मलद्वारमा लुकाएर ल्याउँदै गरेको २३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

शुक्रबार साँझ साढे ६ बजे सीमा नाका जमुनाहामा चेकजाँच गर्ने क्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहको संयुक्त टोलीले खत्रीलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार नै भारतीय सीमा सुरक्षा बल एसएसबीले ५ ग्राम ब्राउन सुगरसहित नेपालगन्जका गौरव नामका युवालाई पक्राउ गरेको थियो ।

उनले दिएको सूचनाको आधारमा एसएसबीले रुपैडियाको रियाज मेडिकल मेडिकल स्टोरका रियाज अहमदलाई पनि ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।