फिचर

विदेशबाट नेपाली फर्काउनेबारे सरकारको स्पष्टोक्ति : भावनासँगै जोखिम पनि छ

काठमाडौं । विदेशबाट लाखौं नेपाली घर फर्कने आशमा सरकारको मुख हेरिरहेका छन् ।

नेपालबाट धमाधम मुलुकहरुले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फर्काइरहँदा नेपालीले पनि त्यो आश गर्नु नौलो विषय रहेन ।

तर, सरकारले भने यसलाई जोखिमसँग हेरेर विश्लेषण गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा रहेका नेपालीलाई घर फर्काउनु पर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै त्यसअगाडी जोखिमको विश्लेषण गर्नुपर्ने बताएका छन् ।

अहिले जुन व्यक्ति जहाँ छ, त्यही बस्दा बढी सुरक्षित हुने भन्दै उनले व्यवस्थापनको तयारी नगरी नागरिक फिर्ता ल्याउँदा त्यसले नित्याउने जोखिमबारे छलफल गर्नुपर्ने बताए ।

विदेशमा रहेका नेपाली नागरिकलाई सोही मुलुकले सुरक्षित रुपमा राख्ने र नेपालमा रहेका विदेशी नागरिकलाई नेपालले सुरक्षित राख्ने  सहमति समेत भइरहेको उनले जनाए ।

विनियोजन विधेयकमाथि उठेका प्रश्नको संसदमा बुधबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सीमापारि रहेका नेपालीलाई फर्काउनेबारे थप छलफल आवश्यक रहेको बताएका हुन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफमा उनले भने ‘बाहिर बसेकाहरू स्वदेश फर्कन चाहन्छन् भने उनीहरूलाई ल्याऔं भन्नुभएको छ । योसम्बन्धी विषयमा मलाई लाग्छ अलिकति बढी छलफलको आवश्यकता पर्छ । हाम्रा भावनाहरू एक ठाउँमा छन् र हाम्रा कठिनाइहरू पनि हामीले सँगसँगै हेर्नुपर्छ ।’

मान्छे ल्याउने, लाने भन्ने कुरालाई समग्र स्वास्थ्य जोखिमको आधारबाट विश्लेषण गर्नुपर्ने उनको तर्क रहेको छ । सीमापारिका नेपालीहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनको भनाई छ ।