समाचार

न्युयोर्कको म्यानहाटनमा जडान भयो 'ट्रम्प डेथ क्लक'(भिडियो सहित)

न्युयोर्क

न्युयोर्क राज्यको म्यानहाटनस्थित टाईम्स स्क्वायरको भवनको टुप्पोमा एउटा नयाँ बिलबोर्ड जडान गरिएको छ, जुन बिलबोर्डमा डिजिटल अक्षरमा अमेरिकामा कोरोना संक्रमणको कारण मृत्‍यु भएकाहरुको अद्यावधिक संख्या देखाउँछ । अचम्म लाग्दो कुरा त यो छ कि; संसारकै चर्चित पर्यटकीय गन्तब्यको गगनचुम्बी भवनको टुप्पोमा कोरोनाको कारण मृत्‍युहुनेहरुको अद्यावधिक संख्या देखाउने डिजिटल बोर्डलाई देश कै राष्ट्रपतिको नाम राखेर ‘ट्रम्प  डेथ क्लक’ नाम दिईएको छ । फिल्म निर्माता युजिन जरेकीले डिजाईन गरेको उक्त डिजिटल बोर्डलाई ‘ट्रम्प डेथ क्लक’ नाम राख्नुको कारण उनले भनेका छन्; यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले समयमा नै कोरोनालाई सही तरिकाले सकारात्मक सम्बोधन गरेको भए अमेरिकामा यति धेरै मानिसको मृत्‍यु हुने थिएन । ५६ फिट लम्बाईको बिलबोर्डमा अमेरिकामा मृत्‍यु हुनेको संख्याको साथमा ट्रम्प प्रशासनको फितलो ब्यबस्थापनको कारणले मृत्‍यु हुनेहरुको अनुमानित संख्या समेत देखाउने गरेको छ । उक्त घडीले अमेरिकामा मंगलवार ८० हजार ६ सय ८४ को मृत्‍यु हुँदा ‘ट्रम्प डेथ क्लक’ मा ४८ हजार ६ सय ६८ को मृतकको संख्या देखाएको थियो । 

शुक्रबार जडान गरिएको उक्त घडीको परिकल्पनाकार जरेकीका अनुसार यदि राष्ट्रपति ट्रम्पले समय मै कोरोनालाई सम्बोधन गरेको भए मार्च १६ मा बन्द गर्ने बिद्यालय र मार्च १६ देखि लागू गरिएको सामाजिक दुरीको नियम ९ तारिखदेखि गरिएको भए यति धेरै क्षति हुने थिएन ।  उनको अनुसार हाल अमेरिकामा ६० प्रतिशत थप मानिसको मृत्‍यु राष्ट्रपतिको गैह्र जिम्मेबारीको कारण भएको छ । जरेकी सण्डेन्स फिल्म फेस्टिबलमा दुई पटक अवार्ड बिजेता हुन् ।