समाचार

कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

काठमाडौं । भारतले अतिक्रमण गरेको नक्सा समेत समेटेर नेपाल सरकारले सोमबार नयाँ नक्सा पारित गरेको छ । अब नेपालले नयाँ नक्सा प्रयोगमा ल्याउने भएको छ । जहाँ अब लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको हुनेछ ।

‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

मन्त्रिपरिषद् बैठकले नेपालका अतिक्रमित सबै क्षेत्र समेटेर नक्सा स्वीकृत गरेको छ, अब यही नक्सा बमोजिम हाम्रा निशान छाप र पाठ्यपुस्तक पनि अद्यावधिक गरिनेछ,’ उनले भने ।

नयाँ नक्सामा नेपालको संघीयता झल्किने गरी प्रदेशहरू पनि छुट्याइएको उनले जानकारी दिए । भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए ।

भारतले अझ नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन नै गरेपछि त्यसयता नेपालमा चर्को विरोध हुँदै आएको थियो । भारतले नेपालको भूमि अतिक्रमण गरेसँगै सरकारले केही दिन पहिले मात्रै दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा सीमा निगरानी चौकी स्थापना गरेको थियो ।

यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पेश भएको सरकारको नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख थियो ।