समाचार

कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क

न्युयोर्क

ब्यस्त न्युयोर्क बिगत दुई महिनादेखि लकडाउनमा छ । झण्डै ९० लाख मानिसको बसोबास रहेको सपनाको सहर न्युयोर्कमा अहिले कोरोना त्रासका कारण चमक धमक खासै छैन । गर्मी यामको प्रतिक्षामा रहेका लाखौं न्युयोर्कबासी समुन्द्री किनार होस् या हरिया पार्कमा खासै खुलेर हिंड्न पाएका छैनन् । तर पनि मेई महिनाको प्यारो घाम सुरक्षित तरिकाले ताप्ने बातावरण भने ठाउँठाउँमा तयार गरिएका छन् । अमेरिकाको चर्चित चिनी कम्पनी डोमिनोको कुनै बेलाको चिनी प्रशोधन केन्द्रमा निर्माण गरिएको ब्रुकलिनस्थित ‘डोमिनो पार्क’ मा कोरोना संक्रमणबाट सुरक्षित रहने गरी ६ फिटको सामाजिक दुरी कायम गरेर बस्ने गरी पार्क संचालन गरेको छ । चर्चित विलियम्सबर्ग ब्रिज मुनी ईस्ट रिभरको छेऊमा संचालित डोमिनो पार्कको हरियो घाँसमा लहरै मिलाएर सेतो रङको  गोलो लोगो बनाईएको छ । जुन गोलो भित्र जाडो भरी चिसिएका न्युयोर्कबासीको घाम ताप्ने रहर कोरोना कहरकै महामारी बीच मै पनि पुरा हुन सक्दछ । ६ एकर्ड जमिनको उक्त पार्क न्युयोर्क सिटीको स्वामित्वको पार्क भने होईन ।  प्राईभेट पार्क भएको कारण उक्त पार्कलाई सामाजिक दुरी कायम हुने गरी संचालनमा ल्याईएको छ । न्युयोर्क सहर भित्र अन्य थुप्रै सरकारी पार्कहरु छन् तर ती पार्कहरुमा भने यस्ता ज्यामितीय गोलार्ध निर्माण गरेर पार्क संचालन गरिएका छैनन् । 

न्युयोर्क सहर अहिलेसम्म ‘स्टे होम अर्डर’ मा नै छ । अमेरिकामा बुधबारसम्म १५ लाख ३९ हजार मानिस कोरोना संक्रमित छन् भने ९२ हजार ६ सय ४५ को मृत्‍यु भै सकेको छ ।  न्युयोर्क राज्यमा ३ लाख ५४ हजार संक्रमित छन् भने २८ हजार ६ सय ३६ को मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।