समाचार

नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुग्यो

काठमाडौं । एकै दिन २१ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ७० पुगेको छ । बाँकेका २१ जना कोरोना संक्रमित शुक्रबार बिहान निको भएर घर फर्किएका हुन् ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु लगातार दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

नेपालमा एकै दिन ठूलो संख्यामा बिरामी डिस्चार्ज भएका हुन् । यसले सकारात्मक सन्देश भने प्रवाह गर्नेछ । आज डिस्चार्ज भएकाहरु नेपालगञ्ज उपमहानगरालिका वडा नम्बर ८ का हुन्। जहाँ २५ संक्रमित भेटिएका थिए।

डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष समेत छन् । वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए। बाँकेमा कुल संक्रमितको संख्या १०१ पुगेको छ।

बाँकेको नरैनापुरमा मात्र संक्रमित हुनेको संख्या एक मृत्युसहित ७४, नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरा गाउँपालिका एक नर्ससहित दुई जना संक्रमित छन्। नेपालमा शुक्रबार बिहानसम्म कुल ४८७ जनामा कोरोना पुष्टी भएको छ । ३ जनाको ज्यान गएको छ ।