समाचार

तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

काठमाडौं । प्रहरीले चक्रपथको कोटेश्वर कलंकी सडक खण्डमा मूख्य लेनमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २५ किलोमिटर तोकेको छ ।

यो सीमा उल्लंघन गर्दै अधिकतम गतिमा सवारी साधन कुदाउने चालक धमाधम प्रहरीको पन्जामा पर्न थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठबाट यस सडक खण्डमा गति नियन्त्रणको प्रयास थालेको हो । त्यसयता लेजर स्पीड गन मार्फत प्रहरीले सवारी साधनको गति नाप्न थालेको हो ।

पछिल्लो ५ दिनमा उच्च गतिमा सवारी चलाउने करीव ५ सय सवारी साधन कारवाहीमा परिसकेको महाशाखाको तथ्यांक रहेको छ ।

महाशाखाको तथ्यांक अनुसार ५ दिनमा ४ सय ९२ सवारी चालक उच्च गतिमा सवारी साधन चलाएको आरोपमा कारवाहीमा परेका छन् ।

यस सडक खण्डमा सवारी चालकले उच्च गतिमा सवारी चलाउँदा दूर्घटना बढेपछि प्रहरीले गतिको अधिकतम सीमा तोकेको हो ।

अहिले प्रहरीले अधिकतम सीमा तोडर सवारी चलाउने चालकमाथि ५ सय रुपैयाँ जरिवाना गर्दै आएको छ । प्रहरीले यो अभियान शुरु गरेसँगै दूर्घटनाको दर घटेको र कसैले पनि ज्यान गुमाउनु नपरेको प्रहरीले बताएको छ ।