समाचार

प्रचण्डलाई दिइयो अध्यावधिक नेपालको नक्सा

काठमाडौं । सरकारले नेकपा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ नक्सा हस्तान्तरण गरेकी हुन् । यस नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ । मन्त्री अर्यालले शनिवार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रदान गरेकी हुन्।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खटिने मन्त्रीसहित मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पर्खाइमा रहेको जानकारी दिएकी र्थिन् । सरकारले नयाँ नक्सा राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नक्सा दिइएको थियो ।