स्वास्थ्य

न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ । सहरको सम्पन्न क्षेत्रभन्दा विपन्न क्षेत्रमा संक्रमणबाट मृत्‍यु हुनेहरुको अनुपात उच्च देखिएको हो ।

अधिकांश गरिबीको रेखा मुनीका जनता बसोबास गर्ने स्थान र समुदायमा अत्याधिक संक्रमित रहेको न्यूयोर्क सिटी हेल्थ डिपार्टमेण्टको नयाँ आँकडाले देखाएको छ । डिपार्टमेण्टको आँकडा अनुसार परिवारिक आम्दानी धेरै भएका मानिस बसोबास गर्ने समुदायमाभन्दा न्यून आय भएको ठाउँमा बस्ने मानिसको मृत्‍यु दोब्बर अनुपातमा भएको देखिएको छ । जुन ‘जिप कोड’मा बसोबास गर्ने ३० प्रतिशत बासिन्दा गरिबीको रेखा मुनी छन्, त्यो ठाउँका १ लाख बासिन्दा मध्ये २ सय ३२ जनाको कोभिड -१९ को कारण मृत्‍यु  भएको छ भने १० प्रतिशत मानिस मात्र गरीबीको रेखा मुनी रहेको जिप कोड इलाकामा बसोबास गर्ने १ लाख जनामा १ सय जनाको मात्र कोभिड -१९ को कारण मृत्‍यु भएको पाईएको छ । न्युयोर्क सिटी हेल्थ डिपार्टमेन्टद्वारा सार्बजनिक गरेको जिपकोड अन्तर्गतका मृतकका ती संख्याले न्युयोर्क सहरका बासिन्दालाई कसरी यहाँको आर्थिक असमानताले जन-जीवनलाई प्रभाबित गरेको छ भन्ने कुरा छर्लङ पारेको छ । अमेरिकामा कोरोना भाइरसको राष्ट्रिय एपिसेन्टर न्यूयोर्क शहरमा २० हजार ८ सय ६ को मृत्‍यु  भै सकेको छ ।

१३ हजार मानिसको बसोबास रहेको ब्रुकलिनस्थित पूर्वी न्यूयोर्कको ‘स्टारेट सिटी हाउजिङ कम्प्लेक्स’मा बसोबास गर्ने ७६ जनाको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ । यो क्षेत्रमा एक परिवारको वार्षिक  आम्दानी औषत ३७ हजार अमेरिकी डलर छ । क्वीन्सस्थित फार रकवे, फ्लसिङको केही भाग, उत्तर पूर्वी ब्रोंक्सको केही भाग लगायत ब्रुकलिनको कोनी आईल्याण्ड र क्वीन्सको ईस्ट एल्महर्स्टमा मृतकको संख्या निकै माथि छ । बिशेषगरी न्यूयोर्क सहरमा महामारीको समयमा काम गरी खानु पर्ने वर्ग र न्युन आय भएको बर्गले निकै ठुलो क्षति भोगेको देखिएको छ । 

म्यानह्याटनको हार्लमदेखि दक्षिण भागमा भने कोरोनाले निकै कम मानवीय क्षति भएको छ । त्यस मध्ये पनि वार्षिक रुपमा एक लाख डलर माथि कमाई गर्ने समुदाय बस्ने म्यानह्याटन इलाकामा कोरोना संक्रमणका कारण सबैभन्दा कम मानिसको मृत्‍यु भएको छ । म्यानहाटनको सबैभन्दा तल्लो भाग (लोअर म्यानह्याटन) को दुई वटा जिपकोडमा आईतबारसम्म एक जनाको पनि मृत्‍यु भएको छैन । त्यो ठाउँ फाईनान्सियल डिस्ट्रिक नामले पनि परिचित छ । कोरोनाको कारण मृतक निकै कम भएको न्यूयोर्कको अर्को ठाउँ ब्रुकलिनस्थित ब्राउन स्टोन हो । ब्राउन स्टोनको औसत पारिवारिक वार्षिक आम्दानी  १ लाख ७५ हजार अमेरिकी डलर छ ।  

न्यूयोर्क सहरका मेयर बिल दि ब्लाजियोले गत सोमबार भनेका छन्; ‘न्यूयोर्कको कतिपय स्थानमा कोरोनाको कारण मानिसहरुको धेरै मृत्‍यु हुनुको पछाडि लामो समयसम्म चिकित्सककोमा जाँच गर्न जान असमर्थ रहेको वर्ग रहेको र उनीहरुको शरिरमा सुगर, प्रेसर, दम, मुटु रोग भए पनि अनभिज्ञ बसेको कारण कोरोना संक्रमण हुँदा एकै पटक भाईरससँग लड्न असमर्थ भई मृत्‍यु भएको धेरै घटना देखियो ।’ मेयर ब्लाजियोले न्यूयोर्क वानसँग भनेका छन्;  ‘धेरै जसो न्यून आय भएका मानिस जसले न्यूनतमरुपमा स्तरिय स्वास्थ सेवा प्राप्त गर्न सकेका थिएनन्, त्यस्ता थुप्रैको संख्यामा मृत्‍यु हुन पुग्यो” ।

अति गरिब समुदायमा संक्रमित र मृतक दुबैको संख्या उच्च रहेको छ । न्यूयोर्क सहरका पाँचवटै बोरोहरु मध्ये कोरोनाको कारण सबैभन्दा बढी मृतक ब्रोंक्समा, दोश्रोमा क्वीन्स, तेश्रोमा ब्रुकलिन, चौथोमा स्टेटन आईल्याण्ड र पाँचौमा म्यानह्याटन रहेको छ । ब्रोक्समा ४ लाख १ हजार, कुईन्समा २ लाख ८६ हजार, ब्रुकलिनमा ५ लाख २७ हजार, स्टेटन आईल्याण्डमा ५७ हजार र म्यानह्याटनमा २ लाख ५४ हजार मानिस गरीबीको रेखामुनी बसोबास गर्दछन् । न्यूयोर्कमा ४ जनाको परिवारको लागि वार्षिक ६८ हजार २ सय २० अमेरिकी डलर भन्दा कम आम्दानी गर्नेलाई गरीबीको रेखा मुनी गणना गरिन्छ ।  

न्यूयोर्कको संक्रमित संख्यामा भने क्वीन्सको कोरोना भन्ने ठाँऊले अन्यत्रलाई उछिनेको छ । कोरोना पछि ब्रोक्सस्थित फोर्डम् दोश्रो नम्बरमा छ भने क्वीन्स कै एल्महर्स्ट क्षेत्र संक्रमितको संख्यामा तेश्रो र ब्रुकलिनको बोरो पार्क चौथो स्थानमा छन् ।   न्यूयोर्कमा आईतबारसम्म एक लाख ९४ हजार ६ सय ६७ संक्रमित र २१ हजार ३८ जनाको मृत्‍यु भइ सकेको छ ।  

साथै रंङका आधारमा न्यूयोर्कमा ल्याटिनो  हिस्प्यानिक २२ दशमलब ८ प्रतिशत, काला जातीका १९ दशमलब ८ प्रतिशत, श्वेत जाती १० दशमलब २ प्रतिशत र एसियन ८ दशमलब  ४ प्रतिशतको मृत्‍यु भएको छ ।

(एजेन्सीको सहयोगमा बिजय राम पौडेलले तयार पारेको रिपोर्ट)

फोटो श्रोत : पोलिटिको