फिचर

लुक्ला उडान रामेछापबाटै निरन्तर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको लुक्ला विमानस्थलमा रामेछापबाट भइरहेको उडानलाई निरन्तरता दिने निर्णय गरेको छ ।

काठमाडौंबाट लुक्ला जान पर्यटकले जहाज चढ्न रामेछापस्थित विमानस्थल पुग्नुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको प्राधिकरणले जानकारी दिएको छ ।

लुक्लामा उडान सेवा दिइरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै प्राधिकरणले आगामी सिजनका लागि पनि लुक्लामा रामेछापबाटै उडान निरन्तर गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गको पीच उप्काएर बनाउनुपर्ने भएपछि बसन्त ऋतुमा हुने सगरमाथा आरोहण अवधिका लागि काठमाडौंबाट हुँदै आएको लुक्ला उडान रामेछाप सारिएको थियो ।

काठमाडौंमा धावनमार्ग मर्मतको काम १५ असारबाट सम्पन्न हुँदैछ । त्यसपछि पनि लुक्ला उडान काठमाडौं नसार्ने निर्णय प्राधिकरणले गरेको हो ।

लुक्ला सबैभन्दा व्यस्त आन्तरिक विमानस्थलमध्ये एक हो । यहाँ मूख्य पर्यटकीय सिजनमा दैनिक ५० वटासम्म उडान हुन्छन् । यस विमानस्थलमा नेपाल वायुसेवा निगमसहित तारा एयर, सिता एयर र समिट एयरले उडान गर्छन् ।