विश्व

भारतमा खुल्यो आन्तरिक उडान

नयाँ दिल्ली । आजबाट भारतमा आन्तरिक हवाई उडान सुचारु भएको छ । कोरोना संक्रमण तीव्र रूपमा फैलिए पनि भारतले क्रमशः लकडाउन खोल्न थालेको छ । सोहीक्रममा आन्तरिक उडान सुचारु गरिएको हो ।

भारतमा करिब दुई महिनायता बन्द रहेको आन्तरिक हवाई सेवा सोमबारदेखि शुरु भएकोहो । पहिलो चरणमा पश्चिम बंगाल र आन्ध्र प्रदेशमा भने अझै खुलेको छैन । भारतमा २५ मार्चदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

लामो समय उडान बन्द हुँदासमेत कोरोना नथामिएपछि भारतले क्रमशः अर्थतन्त्रलाई चलायमान बढाउन थालेको हो । उडान सुचारु गर्न भारतको गृह मन्त्रालयले सुरक्षा निर्देशिका बनाएको छ । उता, नागरिक उड्डयन प्राधिकरणसमेत निर्देशिका बनाएको छ ।

अब भारतमा वेवमा आधारित चेकइन हुने छ । दुई घण्टा अगाडी नै विमानस्थलमा जानुपर्छ । उडानमा खाना, नास्ता र पत्रपत्रिका बन्द गरिएको छ ।

भारतमा सोमबार बिहानसम्म १ लाख ३८ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने ४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।