फिचर

प्रेमिका भगाउन पुगेका एक दलित युवासहित तीनको गयो ज्यान, संसदमा हंगामा

काठमाडौं । अन्तरजातीय प्रेम र भागी विवाहका लागि गएका युवाको हत्या भएपछि यतिबेला नेपालमा व्यापक विरोध शुरु भएको छ । गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । उनीसँगै गएका अन्य २ जनाको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा जोडिएका ३ जना बेपत्ता रहेका छन् । २१ वर्षिय विकलाई आफ्नी १७ वर्षिय प्रेमिकाले आफुलाई भगाउन उक्त गाउँ बोलाएकी थिइन् ।

सोहीकारण उनी १९ जनाको टोली लगेर गाउँ गएका थिए । तर, प्रेमिकाको परिवारले स्थानीयलाई बोलाएपछि दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाका अनुसार घटनामा ३ जनाको शव फेला परेको थियो । यस घटनाको छानविनका सम्बन्धमा उच्चस्तरीय समिति समेत गठन भएको छ । समितिले दुई साता भित्र प्रतिवेदन दिने गृहमन्त्री थापाले जानकारी दिए । दलित युवा र उनका साथीको हत्या भएपछि मंगलबार नेपाल दलित विद्यार्थी संघले दिउँसो राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

मंगलबारको संसद बैठकमा पनि सांसदहरूले घटनाबारे छानबिन गर्न माग गरे । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेको छ । संसदमा सांसदहरुले संसदीय छानविनको माग गर्दै हंगामा मच्याएका थिए । यस घटनाले आधुनिक जमानामा समेत छुवाछुतको पराकाष्ट जनाएको भन्दै नेपालमा व्यापक विरोध भएको छ ।