रोचक खवर

पर्साबाट एकै पटक २१ जना डिस्चार्ज

वीरगन्ज । कोरोना कहरका बीच पर्सामा एकै पटक २१ जना डिस्चार्ज भएका छन् । कोभिड–१९ संक्रमित उनीहरुको लगातार दोस्रो रिर्पोट नेगेटिभ आएको छ । सोहीकारण नारायणी कोभिड अस्पतालको एक शाखा गण्डक अस्पतालले मंगलबार राती डिस्चार्ज गरेको हो । गण्डक अस्पतालबाट डिस्चार्ज भएका व्यक्तिलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरे ।

यस अस्पतालमा ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । त्यसमध्ये २१ जना निको भए । अब ९ जनाको उपचार भइरहेको छ । यसअघि नारायणी अस्पतालबाट ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए । मंगलबार सम्म कुल १५५ जनाले कोरोना जितेकोमा अब कोरोनालाई जित्ने बिरामीको संख्या १७६ पुगेको छ ।

पर्सामा ३ हजार ८० जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अहिलेसम्म २९ सय ५५ जनाको रिपोर्ट आएको छ । मंगलबार मात्र १ सय जनाको नमुना संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बिरामी डिस्चार्ज भएपछि अहिले पर्सास्थित ७० बेड क्षमताको नारायणी अस्पताल खाली भइसकेको छ ।