समाचार

नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतमा अड्किएका नेपाली दिनको हजारौँका दरले आउन थालेपछि कोरोना संक्रमित पनि तीव्रगतिमा बढेका हुन्। भारतले रेल सेवा सञ्‍चालन गरेर त्यहाँ रहेका नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ।

कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्।