फिचर

१३ औं सागमा ५ अर्ब १३ करोड खर्च गर्ने तयारी

काठमाडौं । सरकारले आगामी १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा ५ अर्ब १३ करोड रुपैयाँ बजेट खर्च गर्ने भएको छ ।

प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले खेलकुद मन्त्रालयसँग उक्त बजेट आवश्यक पर्ने प्रतिवेदन बुझाएको हो ।

समितिका संयोजक तथा राष्टिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले आइतबार खेलकुद मन्त्री जगतबहादुर सुनारलाई प्रतिवेदन बुझाए ।

प्रतिवेदन अुनसार सागको तयारीमा मात्र ८८ करोड रुपैयाँ खर्च हुने भएको छ । सागको तयारी शुरु भइसकेको छ । अहिले खेलाडीहरु क्लोज क्याम्पमा छन् । खेल सामग्री र पोशाकमा १ अर्ब २९ करोड ९१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

साग अवधिभर प्रयोग हुने समारोह व्यवस्थापनमा ७१ करोड रुपैयाँ अनुमान गरिएको छ । खेल स्थल व्यवस्थापनमा ३ र सुरक्षा व्यवस्थापनमा ५० करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

१३ औं साग नेपालले आयोजना गर्दैछ । यो प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुन्छ ।

सन् १९८४ मा पहिलो साग आयोजना गरेको नेपालले सन् १९९९ मा ८ औं साग आयोजना गरेको थियो । यस प्रतियोगितामा दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य देशले भाग लिन पाउँछन् । सागको सर्वाधिक सफल मुलुक भारत हो ।