विश्व

भारत-अमेरिका व्यापार विवाद : भारतले बढायो अमेरिकी सामग्रीमा कर

विश्वका दुई ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्ध चलिरहेकै समयमा पुनः अर्का ठूलो अर्थतन्त्र भारतसँग पनि अमेरिकाको व्यापार विवाद सतहमा आएको छ ।

भारतले आइतबारदेखी लागू हुने गरी अमेरिकी सामानमा कर वृद्धि गरेपछि विवादले उग्र रुप लिएको हो । भारतले अमेरिकाबाट आउने विभिन्न २८ प्रकारका सामानमा कर बढाइदिएको छ ।

भारतीय राजस्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट भारत आयात हुने बदाम, स्याउ, ओखरजस्ता सामग्रीमा १२० प्रतिशतसम्म भन्सार महसुल बढाइएको छ । अमेरिकाबाट सबैभन्दा बढी बदाम भारतमा निर्यात हुन्छ ।

त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ले पनि भारतले कृषि लगायत क्षेत्रमा अधिक अनुदान दिँदै आफ्नो सामान सस्तो बनाएकाले प्रतिस्पर्धी क्षमता कमजोर बन्दै गएको बताउँदै आएका छन् ।

यी दुई मुलुकबीच खर्बौंको ब्यापार हुन्छ । सन् २०१८ मा मात्र अमेरिका र भारतबीच १ खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो ।

भारतसँग व्यापार विवाद चुलिएसँगै अमेरिकी विदेश मन्त्री पोम्पेओले भारत भ्रमण गर्ने तयारी भइरहेको बताइएको छ ।

त्यसो त जुन २८ र २९ मा जापानमा आयोजना हुने जी २० मुलुकहरुको सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने सम्भावना छ ।
एजेन्सी