फिचर

आज संघीय सरकारको बजेट, कम स्रोत र बढ्दो अपेक्षाबीच अग्नीपरिक्षामा अर्थमन्त्री

काठमाडौं । आज नेपाल सरकारले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७\७८ को वार्षिक बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तेस्रो आर्थिक वर्षका लागि बजेट पढ्ने शौभाग्य पाएका छन् । बिहीबार दिउँसो ४ बजेट बजेट वक्तत्व संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीबाट प्रस्तुत हुने संसद सचिवालयले जानकारी दिएको छ ।

बजेट लगत्तै संसदको अर्को बैठक समेत आह्वान गरिएको छ । संभवतः उक्त बैठकमा भने संविधान संशोधनको प्रस्ताव जाने छ । यसअघि बुधबारको बैठकमा संविधान संशोधनको प्रस्ताव जाने भनिएपनि तयारी नपुगेको भन्दै दलहरुले समय मागेपछि रोकिएको थियो । सरकारले नयाँ नक्सा सार्वजनिक गरेसँगै त्यसलाई संविधानमा अनुवन्ध गर्न संविधान संशोधन गर्न लागिएको हो । त्यसका लागि दुई तिहाई बहुमत चाहिन्छ ।

आज आउने बजेटले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई माथि उकास्ने गरी केही युगान्तकारी घोषणाको अपेक्षामा जनता छन् । खासगरी २० लाख भन्दा बढी मानिसलाई नयाँ रोजगारीको खाँचो यो वर्ष पर्नेछ । कृषिमा आत्मनिर्भर बनाउने योजना अनुसारको कार्यक्तम ल्याउनु पर्ने माग समेत उठेको छ । तर, समग्रमा सरकारसँग आर्थिक जोहो गर्ने स्रोतको भने कमि छ । यसअवस्थामा अर्थमन्त्री आज अग्नी परिक्षामा हुनेछन् । किनकी यसअघिका दुई बजेटमा खासै जनताको मन जित्न नसकेका उनीमाथि लाग्दै आएको आरोप पखाल्ने मौका समेत उनले पाएका छन् । यस वर्ष करीव १६ खर्ब हाराहारीको बजेट आउने अपेक्षा गरिएको छ ।