फिचर

महँगो हुने भयो पेट्रोलियम पदार्थ

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि हुने भएको छ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लगाउँदै आएको भन्सार शुल्कमा थप १० रुपैयाँ बढाउने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्यमार्फत इन्धनको भन्सार शुल्क बढेको घोषणा गरेका हुन् ।

 

अब सर्वसाधारणलाई मासिक थप पौने २ अर्ब रुपैयाँ भार थपिने भएको छ । बढेको भन्सार शुल्क शुक्रबारदेखि नै लागू भएको छ । निगमका अनुसार यसको असर तत्काल उपभोक्तामा नपरेपनि यसको असर अन्तिममा मुल्यमा पर्नेछ । अहिले भने निगमको लागत बढ्ने भएको छ ।

पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ २० पैसा भन्सार शुल्क लाग्ने गरेकोमा आजबाट प्रतिलिटर २५ रुपैयाँ २० पैसा पुगेको छ । डिजेलमा प्रतिलिटर २ रुपैयाँबाट बढेर १२ रुपैयाँ र मट्टितेलमा पनि २ रुपैयाँबाट बढेर १२ रुपैयाँ शुल्क लाग्ने भएको छ ।

 

यो दर अनुसार अब सरकारले पेट्रोलियम पदार्थबाट मात्र थप मासिक पौने २ अर्ब राजस्व उठ्ने भएको छ । सरकारले हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार चाहिँ हटाएको छ । यसले हवाइ भाडा केही कम हुनेछ ।