समाचार

भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देश भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल सेल्स मिसन आयोजना भएको छ ।

नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा सेल्स मिसन सम्पन्न गरेको हो ।

नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सेल्स मिसन २०१९ सम्पन्न गरेको सोट्टोले जानकारी दिएको छ ।

जुन १०, १२ र १४ मा ती तीन देशमा सेल्स मिसन सम्पन्न भएको बताइएको छ । कार्यक्रममा बोर्डको तर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न सहभागीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई प्राथमिकता दिएको बताए ।

उनले नेपाल भ्रमण वर्ष, २०२० को अवसर पारी उनले नेपाल भ्रमण गर्न पर्यटकलाई आग्रह गरे । सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द«को रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गरे ।

उक्त अवसरमा नेपालबाट सहभागी पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा क्रमशः जुन १०, १२ र १४ तारिखका दिन व्यवसायिक गतिविधिहरु विस्तारका सम्बन्धमा अन्तरक्रिया समेत भएको थियो ।

नेपाली राजदुतावास बैंककको सहकार्य एवम् समन्वयमा बैंककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्याण्डका लागि नेपालका राजदूत गणेश प्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गरे ।

थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेको भन्दै उनले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीलाई अनुरोध गरे ।

सन् २०१८ मा भियतनामबाट कुल १२,४५४ कम्बोडियाबाट ३,७९० र थाईल्याण्डबाट ५३,२५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

नेपाल वायु सेवा निगमले हप्तामा तीन पटक काठमाडौं –बैंकक–काठमाडौं हवाई सेवा संचालन गरिरहेका छन् । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ ।