समाचार

भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने

काठमाडौं । सरकारले अहिले धमाधम भारतबाट नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । त्यसका लागि अब भने २० वटा नाका प्रयोग गरिने भएको छ ।कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोक्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेसँगै २० नाका समेत तोकेको हो ।स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् । बैठकले तेस्रो मुलुकबाट पनि नेपालीलाई स्वदेश फर्काउने गरी त्यसको कार्यविधि पारित गरेको हो । सरकारले सीमा नाकाबाट छिर्न दिने निर्णय गरेसँगै भारतबाट मात्र लाखौं नेपाली घर आइरहेका छन् ।