डायस्पोरा

न्यू ह्यामसरमा सुरु भयो बालबालीकाका लागि नेपाली भाषाको कक्षा

न्यू ह्यामसर

उत्तर पूर्वी अमेरिकी राज्य न्यू ह्यामसरमा बालबालीका लागि नेपाली भाषाको कक्षा सुरु भएको छ । फेडेरेसन अफ इन्डिजिनस पिपुल्स अफ नेपाल (फिप्ना) न्यू ह्यामसर च्याप्टरको आयोजनामा गत साताबाट कक्षा सुरु गरिएको हो ।

कोभिड- १९ को कारण भेला हुन नसक्ने अवस्थामा अनलाइनबाट कक्षा सुरु गरिएको फिप्ना न्यू ह्यामसर च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले जानकारी दिइन् । गत साता ‘अनलाइन प्लेटफर्म जुम’बाट सामुदायीक भेला सम्पन्न गरि औपचारिक रुपले नेपाली कक्षाको सुभारम्भ गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी न्यू ह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले बालबालीकालाई मातृ भाषा सिकाउने अभियान उदाहरणीय रहेको भन्दै सफलताको शुभकामना दिए । रोग निर्मुल भएपछि कक्षा कोठामै नेपाली सिकाईलाई निरन्तरता दिनु पर्ने र त्यसका लागि समाजले खुलेर सहयोग गर्ने उनले बताए ।

नेपालमा लामो समय शिक्षण गरि सकेका रना गुरुङ, अङ्शु श्रेष्ठ, निर्मला गुरुङ, मुना शर्मा, दीपा गुरुङ, इन्द्र गुरुङ, बबिता गुरुङ, सङ्गीता गुरुङ, बाबा गुरुङ, सागर गुरुङ र पुष्प घलेले स्वयंसेवक शिक्षकको रुपमा बालबालीकालाई मातृभाषा सिकाउँदैछन् ।  कक्षा हरेक साता शनिबार र आइतबार सञ्चालन हुने जनाइएको छ । चार देखि २३ बर्षसम्मका बालबालीकाको उमेर अनुसार पाँच वटा समुह बनाइ अध्यापन सुरु गरिएको छ । फरक उमेर अनुसारको पठन पाठन सिकाउन त्यसो गरिएको हो । तीन तहको किताब विद्यार्थीलाई सिफारिस गरिएको छ ।

अमेरिकामा जन्मे हुर्केका बालबालीका सानै देखि अंग्रेजी माध्यमको पढाइले नेपाली भाषाबाट टाढा हुन्छन् । उनीहरुलाई सहज गरि नेपाली बोल्न र पढ्न सक्ने बनाउने उध्येश्यले कक्षा सञ्चालन सुरु गरेको फिप्ना न्यू ह्यामसर अध्यक्ष गुरुङको भनाइ छ ।

(तस्वीर साभारः जिएसडीम्यागजिन डट ओर्ग)