विश्व

भूमि विवादबारे नेपाल-भारत वार्ता कहिले होला ?

काठमाडौं । पश्चिम नेपालको कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेपछि चुलिएको सीमा विवाद प्रकरण फेरी सेलाएको छ । सरकारले संविधान संशोधन गरी नक्सालाई वैधानिकता दिने प्रस्ताव संसदबाट फिर्ता लिएसँगै कतै नेपाल फेरी भारतसँग लम्पसार परेको हो की भन्ने आशंका बढेको छ । यसै सन्दर्भमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भने सीमा समस्याको समाधान गर्न प्रयत्न जारी रहेको बताएका छन् ।  भारतको तर्फबाट तय नभएसम्म ठोस मिति भने भन्न नसकिने उनको भनाई छ ।

शुक्रबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री ज्ञवालीले भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको जानकारी गराएका हुन् । भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो। भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने बताउँदै कूटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरे पनि अहिलेसम्म कुनै मिति र मोडालिटी तय भएको छैन ।

सरकार मिति र मोडालिटीको पर्खाइमा रहेको उनले जानकारी दिए । मिचिएको भूमि फिर्ता गर्ने गरी वार्ता हुने उनको भनाई छ । नेपालसँग पर्याप्त प्रमाण रहेका कारण भूमि नेपालकै रहेको विषयमा भारत पनि सहमत हुने उनको भनाई छ । भूमि फिर्ता गर्ने गरिने नेपालले यी सबै गतिविधि गरेको र वार्ता हुने उनले आश्वासन दिए । सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको बताए । सरकारको कदममा शंका नगर्न समेत उनले आग्रह गरे ।

नेपालले संसदमा लैजाने तयारी गरेको विधेयक फिर्ता भएपछि भने भारतमा आफ्नो मुलुकको जीत भएको र नेपाल पछि हटेको भन्दै भारतीय संचारमाध्यमले ब्रेकिंग समाचार चलेका थिए ।