समाचार

कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सोहीअनुसार पार्टीका सांसदलाई निर्देशन समेत दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्दीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो ।

संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो। यसपछि भारतीय संचारमाध्यममा खुसीयाली मनाइएको थियो । शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसेर संशोधनका पक्षमा उभिने निर्णय गरेको थियो। अब भने सरकारलाई संविधान संशोधनका सम्बन्धमा प्रस्ताव लैजान सहज भएको हो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गरेको छ।