समाचार

जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

न्यूयोर्क

मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्‍यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको ती सहरका मेयरले जनाएका छन् ।  

लसएन्जलस : लसएन्जलसस्थित मेयर एरिक गारसिटीले शनिबार बेलुका ८ बजेदेखि भोलिपल्ट बिहान साँढे ५ बजेसम्म लसएन्जलस सहरमा कर्फ्यु घोषणा गरेका छन् । लसएन्जलसमा शनिबार दिनभर जसो भएको प्रदर्शनमा सार्वजनिक बस तोडफोड गर्नेदेखि प्रहरीका केही गाडीहरुमा आगो लगाइएका थिए । लसएन्जलसमा आज शनिबार लगातार चौथौं दिन प्रदर्शन भएको हो ।  

एट्लान्टा : एट्लान्टा सहरमा पनि शनिबार साँझ कर्फ्यु लगाइएको मेयर केश ल्यान्स बटम्सले  घोषणा गरेका छन् । मेयर बटम्सले कार्यकारी आदेश मार्फत कर्फ्यु जारी गरेका हुन् । उनले एट्लान्टा शहरको सम्पूर्ण भागमा बेलुका ९ बजेदेखि भोलिपल्ट सुर्योदयसम्म कर्फ्यु लागू हुने बताएका छन् । शुक्रबार  एटलान्टामा दिनभर जसो भएको प्रदर्शनमा प्रहरीलाई बोतलले हिर्काउने प्रहरीका गाडीमा आगो लगाउने सिएनएन मुख्यालयमा क्षति पुर्याइएको थियो ।  

डेनभर : डेनभरमा लगातार दुई दिनदेखि प्रदर्शन भै रहेको छ । आज प्रदर्शनको दोश्रो दिन मेयर माईकल ह्यानककले शनिबार कर्फ्यु घोषणा गरेका छन् । उनले जनताको सुरक्षाको लागि कर्फ्यु लगाईएको बताएका हुन् । डेनभरमा शनिबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म लागू भएको हो । मेयर ह्यानककले भोली आईतबार साँझको लागि पनि कर्फ्यु घोषणा गरिसकेका छन् । डेनभरमा भएको प्रदर्शनमा ३४ जनालाई नियन्त्रणमा लिइएको मेयर ह्यानककले बताएका छन् ।

फिलाडेल्फिया : फिलाडेल्फिया सहरमा पनि मेयर जिम केनिले शहरमा कर्फ्यु लगाएका छन् । त्यहाँ शनिबार बेलुका ८ बजेदेखि भोलिपल्ट ६ बजे बिहानसम्म कर्फ्यु लागू भएको हो । शनिबार त्यहाँ हजारौं प्रदर्शनकारी जम्मा भएर प्रदर्शन गरेका थिए भने प्रहरीको गाडीमा आगो लगाउनुको साथै एउटा स्टार बक्स स्टोरमा पनि आगो लगाईएको थियो ।

साथै सिनसिनाटी, मायामी, मिल्वाकी, पोर्ट्ल्याण्ड लगायतका सहरहरुमा पनि शनिबार कर्फ्यु घोषणा गरिएका छन् ।  मिनियापोलिसमा भने लगातार ३ दिनदेखि कर्फ्यु जारी नै छ ।