समाचार

अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

न्युयोर्क     

मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि लगातार ३ दिनदेखि भएको प्रदर्शनीमा १७ सय मानिस पक्राउ परेका छन् । गत २५ तारिख सोमबार मृतक फ्लोएडले २० डलरको नक्कली नोट स्थानीय किराना पसलमा चलाऊन खोजेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिएको करिव २० मिनेटपछि फ्लोएडको मृत्‍यु भएको थियो । प्रदर्शन अमेरिकाका २२ वटा ठुला सहरमा जारी छ । एक श्वेत जातीका प्रहरीले अश्वेत जातीका फ्लोएडलाई भुईमा सुताएर लगातार ८ मिनेट ४६ सेकेण्ड आफ्नो घुँडाले गर्दन थिचेको र करिब ६ मिनेट पछि मृतक फ्लोएड बेहोस देखिएको भिडियो सार्वजनिक भएको थियो । सोमबार भिडियो सार्वजनिक भएपछि मिनियापोलिसबाट सुरु भएको शान्तिपूर्ण बिरोध प्रदर्शन क्रमिक रुपमा हिँसात्मक बन्दै गएको थियो  । फ्लोएडको न्यायको लागि भन्दै सुरु भएको आन्दोलनले लगातर ३ दिनदेखि हिँसात्मक रुप लिएको छ । सहरका राजनैतिक नेतृत्वले प्रत्येक समुदायलाई कानून सम्मत तरिकाबाट बिरोध जनाउन अनुरोध गर्दै आए पनि तोडफोड लुटपाट र आगजनी साहितका प्रदर्शन शनिबार रातभर जस्तो जारी रह्यो ।  

फ्लोएडको मृत्‍यु पछि घटनाको भिडियोमा प्रत्यक्ष देखिएका प्रहरी अधिकृत डेरेक चौभिनलाई हिरासतमा लिएर मान्छे मारेको अभियोग लगाईएको छ भने भिडियोमा नदेखिएका अन्य ३ प्रहरिलाई सेवाबाट निलम्बन गरिएको छ । न्याय मन्त्रालयले फ्लोएड घटना पूर्ण अनुसन्धानको सबैभन्दा प्राथमिकतामा रहेको बताएको छ ।  

दोश्रो दिन शनिबारदेखि आईतबार बिहानसम्म न्युयोर्कमा भएको प्रदर्शनमा ३ सय ४५ जना पक्राउ परेका छन् । न्युयोर्कमा शनिबार दिउँसो भएको प्रदर्शन सामान्यतया शान्तिपूर्ण देखिए पनि रातीको प्रदर्शनमा प्रहरीको गाडीलाई बोतल हिर्काउने र आगो लगाउने गरिएको थियो । प्रहरीका थुप्रै गाडीमा आगो लगाईएको थियो भने कतिपय गाडीमा ग्राफिटी पेन्ट गरिएको थियो । शनिबार रातीको प्रदर्शनमा न्युयोर्कमा ३३ जना प्रहरी घाईते भएका छन् । ४७ वटा न्युयोर्क प्रहरीको गाडीमा क्षति पुर्याइएको छ ।  

प्रहरीले बिहीवारदेखि यता अमेरिकाका २२ वटा सहरबाट करिव १७ सय प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको एसोसिएट्स प्रेसले सार्वजनिक गरेको छ । 

ईन्डियानापोलिसको प्रदर्शनीमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्‍यु भएको प्रहरी प्रमुख र्यान्डल टेलरले शनिबार रातीको प्रेस ब्रिफिङमा जानकारी दिए ।  टेलरले अन्य तीन जना प्रदर्शनकारीलाई गोली लागेको बताएका छन् ।  

न्यासभिलबाट गत रात कर्फ्यु उलंघन गर्ने २८ जना पक्राऊ परेको प्रहरीले जनाएको छ ।  एट्लान्टामा ७०, डेनभर १८ जना, मायामीमा ३८ जना पक्राऊ परेका छन् भने फ्लोएडको मृत्‍यु भएको मिजौरीमा सयौं प्रदर्शनकारी पक्राऊ परेको जनाईएको छ । मिनियासोटा  प्रहरी कमिस्नरले राज्यभर पक्राऊ पर्नेहरुको एकिन संख्या सार्वजनिक गर्ने तयारी भै रहेको बताएका छन् ।  

‘टार्गेट’ आन्दोलनको टार्गेटमा 

कोरोना भाईरसको महामारीले हजारौंको ज्यान लिएर लाखौं संक्रमित हुँदा आपूर्ति सेवामा लगातार जुटेको ‘टार्गेट’ अकस्मात फ्लोएड मृत्‍यु प्रकरणको आन्दोलनमा निसानामा परेपछि उस्ले देशका १३ राज्यमा संचालित १ सय ७५ वटा आफ्ना सुपरमार्केट अस्थाई रुपमा बन्द गर्ने निर्णय गरेको छ ।  उसले मिनियासोटाका ७१, क्यालिफोर्नियाका ४९, कोलोराडोका ४, जर्जियाका २’ ईलिनोईजका ७, मिचिगनको १, मिजौरीका ५, न्युयोर्कका १२, नेब्रास्काको १, वोरेगनका ८, पेन्सल्भानियाका ४, टेक्ससका ९ र विस्कन्सिनका २ स्टोर तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।  यद्यपी उस्ले स्टोर बन्द अवधिमा आफ्ना कर्मचारीलाई १४ दिनको ज्याला दिने घोषणा गरेको छ ।  

अन्तिम संस्कार टेक्ससमा

अन्तिम दाह संस्कारको लागि जर्ज फ्लोएडको मृत शरिर टेक्ससस्थित ह्युस्टन लगिने स्लाइभस्टर टर्नरले बताएका छँन्    नर्थ क्यारोलिनामा जन्मिएका फ्लोएड  टेक्ससस्थित ह्युस्टनमा हुर्किएका हुन् । फ्लोएडको परिवार र वकिलले ४६ बर्षीय फ्लोएडको अन्तिम संसकारको स्वीकृति दिन बाँकी नै छ ।  

अमेरिकामा कोरोनाले झन्डै १८ लाख संक्रमित र १ लाख ३ हजार मानिसको मृत्‍यु भएको अवस्थामा फ्लोएड मृत्‍यु प्रकरणले भाईरस महामारी समेत छाँयामा परेको छ ।  

(एजेन्सीको सहयोगमा तयार पारेको रिपोर्ट)