समाचार

ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो

न्यूयोर्क

जर्ज फ्लोयडको हत्या विरुद्ध देशभर आन्दोलन चर्किंदा गत शुक्रबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाका लागि बंकरमा लगिएको खुलेको छ । ट्रम्प सहित पत्नी मलेनिया र छोरा बारोनलाई पनि करिब एक घण्टा बंकरमा राखिएको स्रोत उद्धृत गर्दै सिएनएनले जनाएको हो ।

मिनिसोटा स्थित मिनियापोलिसमा अघिल्लो सोमबार स्वेत प्रहरी अधिकारीले काला जातीका फ्लोयडलाई स्वेत निशस्त्र अवस्थामा जमिनमा पछारि घुँडाले घाँटी थिचेर हत्या गरेका थिए ।  उक्त घटनाको भिडियो सार्वजनिक भएसँगै रंगभेद विरोध अमेरिकाभर आन्दोलन चर्किएको छ । सोही क्रममा शुक्रबार साँझ प्रदर्शनकर्ताले तोडफोड एवं हिंसात्मक गतिविधी देखाएपछि ट्रम्पलाई बंकरमा लगिएको जनाइएको छ । ‘ह्वाइट हाउसको सुरक्षा अवस्था रातो श्रेणीमा पुगेपछि राष्ट्रपतिलाई त्यहाँबाट बाहिर निकालिन्छ, शुक्रबार त्यही गरिएको हो’ स्रोत उदृत गर्दै सिएनएनले लेखेको छ । शनिबार विहान सेक्रेट सर्भिस अधिकारीले ह्वाइट हाउस बाहिरका प्रदर्शनकारीलाई तह लगाएको भन्दै ट्विट गरेका थिए ।

फ्लोयड हत्याको विरुद्धमा सुरु शान्तिपूर्ण आन्दोलनमा अहिले अमेरिका भरनै हिंसात्मक गतिविधी भइ रहेका छन् । कैयन् राज्यमा तोडफोड एवं लुटपाट भएका छन् । ट्रम्प एवं उनका अधिकारीहरुले एन्टी फासिष्ट (एन्टिफा) नामको अनौपचारिक उग्र बामपन्थी संगठनलाई हिंसात्मक गतिविधीको आरोप लगाउँदै आएका छन् । तर, राज्य स्थित आन्दोलनकारीलाई प्रत्यक्ष झेल्ने अधिकारीहरु भने उग्र बामपन्थी र उग्र दक्षिणपन्थी (ह्वाइट सुप्रिमिष्ट) दुबै समुहले घुसपैठ गरेको बताउन थालेका छन् । ट्रम्प र उनी मातहतका अधिकारी ह्वाइट सुप्रिमिष्टहरुको संलग्नताबारे मौन छन् । ट्रम्पको बोली र ट्विटले आन्दोलनकारीहरुको उग्रपनमा अझ घ्यु थपेको गुनासो राज्य एवं स्थानीइ अधिकारीहरुको छ ।