समाचार

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

File

काठमाडौं । नेपालमा कोरोना संक्रमितको आंकडाले तिब्रता लिएको छ । दुई साता अगाडी दैनिक औसतः २्३ जनामा सिमित संक्रमणको दर अब दैनिक २ सय नाघेको छ । सोमबार मात्र २ सय ३९ नयाँ संक्रमित पुष्टी भएको छ । सरकारले भारतबाट आएका मानिसमा परीक्षण बढाएसँगै संक्रमितको संख्याले उचाई छोएको हो । अब नेपालमा कुल संक्रमित करीव २ हजार पुगेको छ ।

सोमबार साँझको तथ्यांक अनुसार नेपालमा १ हजार ८ सय ११ जनामा कोरोना पुष्टी भइसकेको छ । सोमबार नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमित थप भएका छन् । साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको मन्त्रालयले जनाएको थियो ।

तर, साँझ थप १३ जनामा पुष्टी भएसँगै एकै दिन नेपालमा २ सय ३९ जनामा कोरोना देखिएको हो । सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।