समाचार

आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

काठमाडौं । १९ जेठ, रातको ९ बजे, जनताका प्यारा राजालाई संसारबाट चुडाउने दिनको रुपमा धेरै नेपालीले कालो दिनका रुपमा आजको दिनलाई सम्झना गर्छन् । २०५८ सालमा भएको यो त्रासदीपूर्ण घटना भएको आज १९ वर्ष पुरा भएको छ । राजदरवारमा भएको यो हत्याकाण्ड नेपालमा राजतन्त्र अन्त्यको पहिलो घुटकिला भएको धेरैको धारणा छ । त्यसपछि राज ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको भएपनि आफ्नो महत्वकांक्षी व्यवहारका कारणले उनले गद्दी मात्र गुमाएनन्, पुर्खाको विरासतमा समेत पूर्णबिन्दु लगाइदिए ।

राजा वीरेन्द्रको वंशनाश भएको यस दिन आफ्ना प्यारा शासकलाई सम्झेर धेरैले सामाजिक संजालसहित विभिन्न माध्यमबाट घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । तत्कालिन उच्चस्तरीय छानविन समितिले तत्कालिन यूवराज दीपेन्द्रको सनकमा घटना भएको प्रतिवेदन दिएको थियो ।

दीपेन्द्रसमेत यही घटनामा मारिएका थिए । उनलाई दुई दिनका लागि राजा घोषणा गरिएको थियो । तर, यो घटना दीपेन्द्रबाट घटिएको भने आम मानिस पत्याउन तयार छैनन् । सोहीकारण हरेक पुण्य तिथिमा राजाको वंशनास गर्ने गरी भएको घटनाको यथार्थता पत्ता लगाउन माग हुने गरेको छ ।