फिचर

यूरोप र अमेरिकासम्म जादैनन् नेपाली विमान, घर फर्कने भए ट्रान्जिट प्वाइटसम्म आउनु पर्ने

काठमाडौं । यूरोपले नेपाली वायुसेवा कम्पनीहरुलाई कालोसूचिमा राखेको छ । त्यसकारण यूरोपको आकासमा नेपाल एयरलाइन्स उड्न सक्दैन । यसैबीचमा सरकारले विदेशमा समस्यामा रहेका नेपालीलाई घर फर्काउने अभियान शुरु गर्दैछ । तर, यसरी घर फर्काउने अभियानका दौरान अमेरिका र यूरोपबाट नेपाली घर फर्कन चाहे भने ती मुलुकसम्म नेपाल एयरलाइन्स पुग्न नसक्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार एक नेपाली संचारमाध्यम सँगको अन्तरर्वार्ताका दौरान यूरोप र अमेरिकासम्म नेपाली जहाज पुग्न नसक्ने स्पष्ट पारेका छन् । उनका अनुसार लकडाउनकै अवधिमा नेपाल एयरलाइन्सलाई क्यानडा सरकारले चार्टर्ड गर्न खोजेको थियो । तर, यूरोपबाट अनुमति नपाएका कारण नेपाल एयरलाइन्स क्यानडा जान पाएको थिएन ।

मन्त्री भट्टराईका अनुसार यूरोप र अमेरिकाबाट नेपाल आउन चाहनेले या खाडी मुलुकसम्म आएर त्यहाँबाट सरकारले व्यवस्था गरेको जहाज चढ्नु पर्नेछ । वा यूरोप र अमेरिकाबाट नेपाली समुदाय आफैले जहाजको व्यवस्था गरी स्वदेश फर्कनु पर्ने भएको छ । उनका अनुसार यस सम्बन्धमा परराष्ट्र र पर्यटन मन्त्रालयले व्यवस्थापन गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयका निकायबाट कुन देशबाट कति जना नेपाली घर फर्कन इच्छुक छन् भनी तथ्यांक संकलनको काम शुरु गरिएको छ । सरकारले पहिलो चरणमा आम माफी पाएका, काम गुमाएर बेखर्र्ची बनेका, रोगी, सुत्केरी, घरमा आफन्तको मृत्यु भएका नागरिकलाई पहिलो चरणमा प्राथमिकताका साथ घर फर्काउने भएको छ ।