समाचार

काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिक आएको छ । तर, महाधिवेशनलाई लिएर नेपाली काँग्रेसमा नयाँ विवाद शुरु भएको छ । आउँदो वर्ष हुने महाधिवेशन सार्नका लागि सभापति शेरबहादुर देउवा अहिलेदेखि नै लागिपरेको भन्दै संस्थापनबाहेकका गुट–उपगुटले संयुक्त भेला गरेका छन् । बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा विभिन्न गुटको भेला भएको थियो । संयुक्त भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुको सहभागिता थियो । त्यसअघि नेता प्रकाशमान सिंहको निवासमा सबै पक्षका नेताहरु जम्मा भएका थिए । बुधबार र केही हप्ताअघिका भेलाको एउटै निष्कर्ष रहेको थियो । दुवै भेलामा सभापति देउवाले महाधिवेशन समयमा नगर्ने योजनाअनुसार पार्टी सञ्चालन गर्दा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।
नेपाली काँग्रेसको महाधिवेशन अर्को वर्ष गर्नुपर्छ । तर, विधानअनुसार एक वर्षको समय सभापतिले विशेष अधिकारले थप्न मिल्छ भने त्यसपछि पनि ६ महिना थप्न सक्ने प्रावधान काँग्रेसको विधानमा छ । नेपाली काँग्रेसको संस्थापन समूहले सभापति देउवा विधानअनुसार चलेको बताएका छन् भने गैरसंस्थापनले भने सभापतिले एक वर्ष पहिल्यैदेखि आफ्नो कार्यकाल आफैँले थप्न लागेको आरोप लगाएका छन् । काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान महाधिवेशन सार्नेगरी ल्याइएको संस्थापन इतरका नेताले बताएका छन् । तर, सभापति निकटका नेताले भने जनजागरण अभियानले काँग्रेसको तल्लो तहसम्म ऊर्जा आएको प्रतिक्रिया दिएका छन् । अहिले देखिएका भेला र गुटबन्दी मुख्यतः यही विषयमा केन्द्रित भएको छ ।

आरोप–प्रत्यारोपको सिलसिला

वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमै सभापति देउवाले पार्टीको महाधिवेशन नगर्नेगरी योजना बनाएको आरोप लगाएका छन् । उनले चितवन पुगेर सभापतिले विधानको अपव्याख्या गर्न नहुनेतर्फ सचेत गराए । उनले भने– ‘अहिलेदेखि नै महाधिवेशन नगर्ने संकेत आएको छ । लोकतान्त्रिक अभ्यासलाई निस्तेज पार्न खोजिएको छ । यसले पार्टीलाई राम्रो गर्दैन ।’ पूर्वमहामन्त्रीसमेत रहेका अर्का नेता प्रकाशमान सिंहले महामन्त्रीले विधिको शासन कायम गर्न नसेकेको र पार्टीलाई विधान बाहिरबाट चलाउन खोजेको आरोप लगाए । उनले महाधिवेशनका लागि चाहिने आधारभूत कुराहरुको तयारी थाल्नुपर्नेमा सभापतिले त्यसो नगरेको भन्दै आपत्ति जनाए ।
पार्टीभित्र विधिअनुसार नेतृत्व नचलेको भन्दै युवा नेता गगन थापाले समेत असन्तुष्टि व्यक्त गरेका छन् । त्यस्तै अर्का युवा नेता प्रदीप पौडेलले सभापति देउवाले पार्टी नेतृत्व राम्रोसँग चलाउन नसकेको भन्दै आलोचना गरे । उनले पार्टीको विधानलाई आफू अनुकूल मात्र चलाउन खोजेमा राम्रो नहुने चेतावनीसमेत दिए । काँग्रेसमा देउवालाई आफू जित्ने अवस्थामा मात्र अधिवेशन गर्ने सोच भएको व्यक्तिको रुपमा आरोप लाग्न थालेको छ । तल्लो तहबाट निर्वाचित भएर आउनका लागि धेरै झमेला भए पनि वर्तमान नेतृत्वले त्यसलाई सहज नबनाएर झन्झन् झमेला थपेको गैरसंस्थापनका नेताहरुको ठहर छ । त्यसैलाई साथ दिनका लागि सभापति देउवाले आफू निकटका नेतासमेत परिचालन गरेको आरोप लागेको छ ।
तर, सभापति देउवा निकटका नेताहरुले भने पार्टी सभापतिलाई काम गर्न नदिनेगरी भेला र गुटबन्दी गरिएको आरोप लगाएका छन् । देउवा निकट मानिएका नेता डा. प्रकाशशरण महतले सभापतिविरुद्ध भएका भेलाले कुनै अर्थ नराख्ने बताए । उनले पार्टी सभापति देउवा विधानभन्दा बाहिर नजाने जानकारी दिए । उनले भने– ‘अधिवेशन गर्ने कुरा हामी सबैको जिम्मेवारी हो । विधानभन्दा सभापति पनि बाहिर जानु हुँदैन । त्यसैले यस्ता आरोपले पार्टीलाई कमजोर पार्छ । जे भइरहेको छ त्यो गलत भएको छ ।’ चुनावका बेलामा पनि यस्तै गुटबन्दी गरिएकाले पार्टीले पराजय भोग्नुपरेको दाबी गर्दै नेता महतले सकभर निर्धारित मितिमै अधिवेशनका लागि सभापति तयार भएको जानकारी गराएका छन् ।
देउवा निकट मानिएका अर्का नेता रामहरि खतिवडाले सभापतिविरुद्ध भएका अभियानले पार्टी नै कमजोर हुने बताएका छन् । उनले पार्टी सभापति काँग्रेसको विधानअनुसार चलेकाले त्यसमा प्रश्न उठाउनु गलत हुने दाबी गरे । उनले भने ‘पार्टी सभापतिविरुद्ध हुने गुटबन्दीले खासै अर्थ राख्दैन । विधानअनुसार निश्चित समयभित्रै महाधिवेशन हुन्छ । यस्तै गुटउपगुटले गर्दा काँग्रेस कमजोर भएको हो । चुनावका बेलामा पनि आफ्नाले आफ्नालाईनै हराउन लागिएको थियो । जनतामा उत्साह आएका बेलामा नेताहरु एक ठाउँमा उभिएर सभापतिलाई साथ दिन आवश्यक हुन्छ ।’ उनले जागरण अभियानलाई रोक्न नहुनेमा जोड दिए । अर्को चरणको जागरण अभियानले काँग्रेसका लागि नयाँ उर्जा प्राप्त हुने उनको तर्क छ ।