समाचार

न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

न्युयोर्क

न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो ।  न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि न्युयोर्क आगामी जुन ८ तारिखदेखि खोल्ने तयारी गरिएको छ । तर कोरोनाबाट भर्खर जुर्मुराउन थालेको सहर पुन: जर्ज फ्लोएड मृत्‍यु प्रकरणले लुटपाट र टोडफोडमा फसेको भएपनि गभर्नर कुमोले आगामी सोमबारदेखि न्युयोर्क खोल्ने कुरामा प्रतिबद्दता ब्यक्त गरेका छन् । 

न्युयोर्कमा सोमबार राती ११ बजेदेखि लागू गरिएको कर्फ्युलाई मंगलवार भने ३ घण्टा अगाडि ८ बजेदेखि बिहान ५ बजेसम्म लगाइएको छ । सोमबारको कर्फ्यु अगाडि नै गाडी सहित म्यानह्याटनका महँगा स्टोरहरुमा लुटपाट भएपछि मंगलवार साँझ नपर्दै सुरक्षा ब्यापक गरिएको छ ।