फिचर

लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान

खोटाङ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खोटाङको लामिडाँडा एयरपोर्टमा सफल परीक्षण उडान गरेको छ ।

समिट एयरको जहाजमार्फत प्राधिकरणले मंगलबार यस विमानस्थलमा परीक्षण उडान गरेको हो । पूर्व पहाडी जिल्ला खोटाङस्थित रावावेसी गाउँपालिकामा रहेको यो विमानस्थल २०७३ कात्तिकदेखि स्तरोन्नतीका लागि बन्द थियो ।

मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक कर्मचारी, समिट एयरका कर्मचारीसहितको टोली लामिडाँडा विमानस्थलमा पुगेको थियो । धावनमार्ग पीचसहित स्तरोन्नती शुरु भएपछि पहिलो पटक यहाँ जहाज पुगेको हो ।

लामीडाँडा एयरपोर्ट नेपालको पुरानो विमानस्थलमध्ये एक हो । यहाँ २०२८ सालमै जहाज पुगेको थियो । त्यसो त पूर्वमा सोलुखुम्बको लुक्ला र फाप्लुपछि यही विमानस्थल बढी चल्ने गथ्र्यों ।

तर, धुले धावनमार्ग भएका कारण सुरक्षित भने थिएन । अब धावनमार्ग पीच भएपछि विमानस्थल सुरक्षित हुने प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराईले जानकारी दिए ।

उनका अनुसार यो आयोजना ६ करोड रुपैयाँमा सम्पन्न भएको हो । ५ सय २० मिटर लामो र २० मिटर चौडाईको धावनमार्ग पीच गरिएको छ ।

मंगलबार विमानस्थलमा भएको परीक्षण उडानका अवसरमा आयोजित कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराईले यो विमानस्थल नियमित चल्ने वातावरण बनाउने प्रतिवद्धता जनाए । त्यसका लागि पर्यटन मन्त्रालय पुगेर पहल थाल्ने उनको भनाई थियो ।