फिचर

लकडाउन उल्लंघन गर्ने काठमाडौंका व्यवसायीको निर्णय, ११ बजेसम्म पसल खोल्ने

काठमाडौं । काठमाडौंमा व्यवसायीले लकडाउन उल्लंघनको तयारी गरेका छन् । सरकारले लकडाउन मात्र गरेको तर अन्य विकल्पमा तत्परता नदेखाएको भन्दै काठमाडौंमा व्यवसायीहरुले बिहीबारबाट बिहान ११ बजेसम्म पसल तथा व्यवसाय संचालनको निर्णय गरेका हुन् । अहिले बिहान ९ बजेसम्म प्रशासनले पसल संचालन गर्न दिन्छ । त्यसपछि भने प्रहरीले पसल बन्द गराउने गरेको छ ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल तथा व्यवसाय खोल्ने निर्णय गरेको हो । पसल खोलेपनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने कायम गरिने व्यवसायीले बताएका छन् । लामो समयदेखि व्यवसाय बन्द हुँदा समस्या जटिल भएको र सरकारले यसको सम्बोधनमा ठोस काम गर्न नसकेको भन्दै व्यवसायी लकडाउन तोड्ने निष्कर्षमा पुगेका हुन् ।

न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको पालना गरिने व्यवसायीले जनाएका छन् । सरकारले जेठ ३२ सम्म लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने तयारी गरेपनि त्यसको निष्कर्षमा पुग्न सकेको छैन । तर, पछिल्लो दिनमा कोरोनाका बिरामी भने निरन्तर बढिरहेका छन् ।