समाचार

जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

न्युयोर्क     

गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएड नाममा, मृत्‍यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ ।  फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि नामक कानूनी कार्यालय मार्फत खोलेको ‘गोफण्ड मि’ को खातामा बिहीवारसम्म १ करोड २७ लाख ३१ हजार अमेरिकी डलर सहयोग संकलन भएको छ । ‘अफिसियल जर्ज फ्लोएड मेमोरियल फण्ड’ नाम दिईएको उक्त सहयोग खातामा ४ लाख ७७ हजार चन्दा दाताले सहयोग गरेका छन् । ‘अफिसियल जर्ज फ्लोएड मेमोरियल फण्ड’ नामको खातासंगै आबद्ध अर्को ‘जर्ज फ्लोएड’ (बिग फ्लोएड) नामको खाता पनि सहयोग संकलनार्थ सकृय छ । उक्त खातामा बिहीवारसम्म ३ लाख ६५ हजार अमेरिकी डलर सहयोग जुटी सकेको छ ।

 

उक्त खाता मार्फत १५ हजार ६ सय मानिस तथा संघ संस्थाले सहयोग गरेका छन् । त्यसैगरी जर्ज फ्लोएडको नामसँग जोडीएको एट्लान्टा ठेगाना राखेर खोलिएको अर्को खातामा १५ लाख २८ हजार सहयोग संकलन भै सकेको छ । उक्त खातामा आफ्नो छोरी जियानालाई जर्ज फ्लोएडले बोकेको तस्बिर राखेर ‘अफिसियल जियाना फ्लोएड फन्ड (चाईल्ड अफ जर्ज फ्लोएड)’ नाम दिएर संचालन गरिएको छ । यो खाता मार्फत ४९ हजार ३ सय चन्दादाताले बिहीवारसम्म सहयोग गरेका छन् ।

गोफन्डमा यि तीन खाता बाहेक अन्य २ हजारवटा जर्ज फ्लोएडको  नाममा सहयोग आह्वान गर्दै खाता खोलिएका छन् ।  

अमेरिकामा जर्ज फ्लोएड मृत्‍यु प्रकरण तथा काला जाती माथि प्रहरी बिभेदको बिरुद्ध एकाएक भड्किएको हिँसात्मक आन्दोलन फ्लोएड मृत्‍यु प्रकरणसँग जोडिएका थप ३ प्रहरीलाई हिरासतमा लिएसँगै बुधबारदेखि शान्तिपूर्ण आन्दोलनमा बद्लिएको छ । फ्लोएडलाई घोप्टो पारेर घाँटीमा घुँडाले किच्ने प्रहरी डेरेक चौभिनलाई एक हप्ता अगाडि नै हिरासतमा लिएर अभियोग लगाईए पनि घटनाको समयसंगै रहेका अर्का तीन प्रहरी अधिकारीहरुलाई भने बुधबार मात्र हिरासतमा लिईएको थियो । अमेरिकामा जारी ती प्रदर्शनमा सहभागिहरुको संख्या झनै बाक्लिदै गएको छ भने पूर्ण शान्तरुपमा  प्रदर्शन हुन थालेको छ । बुधबार फ्लोएड  घटनामा संलग्न अन्य ३ प्रहरी अधिकारीहरुलाई पनि हिरासतमा लिएको खबर संचार भएसंगै प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन कै बीचमा खुसी साटासाट गरेका थिए ।