समाचार

महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

न्युयोर्क

कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार ब्यवसाय बन्द भएको कारण बेरोजगारीको संख्या उच्च भएको थियो । अमेरिकामा लेबर स्ट्याटिक्स ब्युरोले जागिरको संख्या पछ्याउन थालेको ८१ बर्षे लामो ईतिहासमा एकै महिनामा यति धेरै जागिरको संख्यामा बृद्धि भएको पहिलो पटक हो ।  

अर्थतन्त्र खुल्न थालेसँगै अमेरिकी जागिरको रिपोर्टले सकारात्मक संकेत गरेपनि हाल कायम रहेको बेरोजगारी संख्या सन् २००८ को आर्थिक मन्दी यताको सबैभन्दा धेरै बेरोजगारी भने कायम नै छ ।